
काठमाडौं, १९ कार्तिक । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीता महराको कोरोना संक्रमणको कारण निधन भएको छ।
काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत ५९ वर्षीया सीताको आज बिहान निधन भएको हो।
रोल्पाको मेबाङमा रहेको पुर्ख्यौली घर गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
तर त्यहाँ उपचार हुन नसकेपछि कात्तिक १४ गते हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।
कोरोना भाइरसको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान ६ ः२५ मा उहाँको निधन भएको अस्पतालले पुष्टि गरेको छ।