
काठमाडौं,१९ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालका वस्तुगत तर्फका केन्द्रीय सदस्यले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।
ढकालसहित जिल्लानगर उपाध्यक्ष गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईले पहिल्यै उम्मेदवारी दर्ता गरिसक्नुभएको छ।
ढकाल प्यानलबाट वस्तुगत केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठ उम्मेदवारी दर्ता गराउनुभएको छ।
गत वर्ष बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
निर्वाचन कार्यतालिकामा महासंघको चुनावका लागि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्ने समयावधि राखिएको छ ।
इच्छुक व्यक्तिले इमेलबाटै मनोनयन दाखिला गर्न सक्ने तर त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
महासंघको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले समेत सोमबार प्यानलसहित उम्मेद्धारी दर्ता गराएका थिए ।
महासंघको विधानमा बरिष्ठ उापध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान भएकोले चुनावमा अध्यक्षमा नभएर बरिष्ठ उपाध्यक्षको पदमा अत्यन्त बढी चासो बढेको छ किनकी यसपटक वरिष्ठ उपाध्यक्ष हुनुभनेको अर्को पटकको चुनावमा स्वतः अध्यक्ष हुनु हो ।
महासंघमा चन्द्र ढकालसमूहले बस्तुगत केन्द्रीय सदस्यमा समेत प्यानल उठाए पनि उहाँका प्रतिस्पर्धी किशोर प्रधान समूहबाट उपाध्यक्षसम्म मात्र प्यानल खडा भएको छ । मंसिर ४ को उम्मेदवारी दिने अन्तिम दिनसम्म वस्तुगत केन्द्रीय सदस्यमा प्रधान समूहको पनि प्यानल खडा हुने संभावना छ ।