नैरोबी(केन्या), १७ माघ । केन्याका अधिकारीहरुले टेलिभिजन स्टेशनहरु बन्द गर्दै गत वर्षको विवादास्पद राष्ट्रपतीय चुनाव वहिष्कार गरेका विपक्षी नेता राइला ओडिंगाले शपथ ग्रहण लिएको समारोहको प्रत्यक्ष प्रसारण हुनबाट रोकिदिएका छन्।
राजधानी नाइरोबीमा भएका समारोहमा आफ्ना हजारौँ समर्थकहरुमा माझ ओडिंगाले आफैँलाई जनताका राष्ट्रपति घोषणा गर्दै आफूले आफैँलाई शपथ दिलाएका थिए।
नाइरोबीको एक पार्कमा आयोजित सो समारोहमा विपक्षी नेता ओडिंगाले हातमा ईसाई धर्मग्रन्थ बाइबल लिदैँ ,उनकै शब्दमा, गणतन्त्र केन्याका जनताको राष्ट्रपति बन्नका लागि आएको ईश्वरको पुकारको जवाफमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका बताए।
पूर्वी अफ्रिकी देश केन्यामा “साँचो अर्थमै प्रजातन्त्र स्थापना गराउनका लागि” आफ्नो त्यस्तो कदम आएको पनि उनले आफ्ना समर्थकहरुलाई बताए।
गत अगस्ट महिनामा भएको राष्ट्रपतीय चुनावमा अनियमितताहरु भएको भन्दै केन्याको एक अदालतले चुनावी परिणाम खारेज गरिदिएको थियो।
विवाद
त्यसपछि अक्टोबर महिनामा दोहोर्याएर भएको राष्ट्रपतीय चुनावमा उहुरु केन्याटा विजयी भएका थिए र नोभेम्बर महिनाबाट केन्याटाले दोस्रो कार्यकाल सम्हालेका हुन्।
तर ओडिंगा दोहोर्याएर भएको राष्ट्रपतीय चुनावमा सहभागी भएनन्।
समारोहअघि एक केन्याली टिभी केटीएन सँग कुरा गर्दै ओडिंगाले संचारमाध्यममा लगाइएको प्रतिबन्धले, उनकै शब्दमा, केन्या युगान्डाको स्तरमा झरेको पुष्टि गरेको बताए । युगान्डामा सन् २०१६ मा चुनाव हुँदा त्यहाँ चुनावबारे समाचार प्रसारण वा छाप्न रोक लगाइएको थियो।
उक्त समारोहको प्रसारण गर्ने आफ्नो योजना रहेकोमा प्रसारण बन्द गर्न अधिकारीहरुले बाध्य पारेको एक टिभी स्टेशन- सिटिजन टिभीले जनाएको छ।
केटीएन टिभीमा एक समाचार प्रस्तोताले एक विज्ञप्ति वाचन गर्दै त्यहाँको राष्ट्रिय संचार निकायले आफ्नो प्रसारण बन्द गरिदिन लागेको बताएका थिए।
राष्ट्रपति उहुरु केन्याटाले सो समारोहबारे समाचार प्रसारण वा प्रकाशन नगर्न भन्दै संचारमाध्यमलाई चेतावनी दिएका थिए ।
त्यस्तो समारोहको आयोजना गरिनु ‘देशद्रोह बराबर भएको’ केन्याका महान्याधिवक्ताको भनाइ छ।
तर प्रमुख टिभी स्टेशनहरुले आफ्ना वेबसाईट र सामाजिक संजाल फेसबुक तथा युट्युबमार्फत् सो समारोह प्रसारण गरेका थिए।
बीबीसीबाट