
काठमाडौं, २७ कार्तिक । नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप १५ जनाको यस घातक भाइरसको समेत कारणबाट मृत्यु भएको छ।
मन्त्रालयका अनुसार १० हजार २२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २ लाख ४ हजार नाघेको छ।
अहिलेसम्म नेपालमा १ हजार १ सय ८९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।
मन्त्रालयका अनुसार अहिले थप २ हजार ३ सय ४९ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण। १०० वटा नमुना परीक्षण गर्दा कतिवटामा सङ्क्रमण पुष्टि। केही महिनादेखि नेपालमा कोभिड(१९ पुष्टि दर उच्च।
नेपालमा अहिले पुष्टि भएका ३८ हजार ४ सय ६१ जना सक्रिय सङ्क्रमित छन्।
नेपालमा अहिलेसम्म १लाख ६४ हजार ५ सय ९२ जना निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात्त सङ्क्रमित निको हुने दर ८०.६ प्रतिशत छ।
बुधवार २ हजार ५ सय ६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो।
को हुन् सङ्क्रमित ?
मन्त्रालयका अनुसार अहिले फेला परेका सङ्क्रमितमध्ये ७ सय ५९ जना महिला र १ हजार १ सय ५४ जना पुरुष छन्। उनीहरू विभिन्न जिल्लाका हुन्।
सबै सङ्क्रमितमध्ये ३४ प्रतिशत अर्थात् ६८ हजार ७ सय ११ महिला र बाँकी १लाख ३५ हजार ५ सय ३१ जना पुरुष भएको मन्त्रालयले जनाएको छ।
तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको वास्तविक सङ्ख्या बढी हुनसक्ने विज्ञहरूको भनाइ छ।
तर काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण र सङ्क्रमित हुने क्रम जारी छ।
विगत २४ घण्टामा काठमाण्डूमा ७ सय ६४ सहित उपत्यकामा ९ सय ७३ जनामा सङ्क्रमण पुष्टि भयो।
अहिले देशभरि २९ हजार ३ सय ८४ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
उपत्यकामा सर्वाधिक २० हजार ८ सय ४९ जनामा सक्रिय सङ्क्रमण छ। यो सक्रिय सङ्क्रमितको कुल सङ्ख्याको ५४ प्रतिशत हो।
उपत्यकामा भएका सङ्क्रमितमध्ये १४ हजार २ सय ३८ जना घरमै एकान्तवासमा भएको तथ्याङ्क मन्त्रालयले दिएको छ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३ सय ७३ जना सघन उपचार कक्षमा र ८७ जना भेन्टिलेरमा भएको विवरण मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यककाका तीन जिल्लाबाहेक झापा, मोरङ, सुनसरी, चितवन, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रूपन्देही र कैलालीमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
हिमाली जिल्ला मनाङमा अहिले सङ्क्रमितको सङ्ख्या शून्य छ। त्यहाँ पाँच जना सङ्क्रमित फेला परेकोमा सबै जना निको भइसकेका छन्। अहिलेसम्म १४ सङ्क्रमित फेला परेको छिमेकी जिल्ला मुस्ताङमा अहिले ८ जना उपचाररत छन्।(बीबीसी)