Prakash Adhikari November 13, 2020

पाटन नगरपालिका(बैतडी), २७ कार्तिक । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। मृतक मध्य ६ जनाको पहिचान खुलेको छ ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे दुर्घटनामा परेको हो।

बैतडी प्रहरीका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरूष रहेका छन्। मृत्यु हुने मध्ये ८ जनाको घटनास्थलमा र एक जनाको डडेल्धुरा उप-क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द रहेका छन। त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेको पवनधुम यातायातको मा ५ ख ५१४१ नम्बरको सो बस बैतडीको गन्नाबाट महेन्द्रनगरतर्फ जाँदै थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जनक बहादुर धामीले दिएको जानकारी अनुसार बसमा करिब ४३ जना यात्रु सवार थिए।

धामीका अनुसार घटनामा २५ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। उनीहरूमध्ये गम्भीर ८ जना घाइतेलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ।

Share Now

Leave a comment.