काठमाडौं, २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ४० मिनेटमै सकिएको हो।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक मंसिर ३ गते बस्ने जानकारी दिनुभएको छ ।
ुआजको बैठकमा भदौ २६ को स्थायी कमिटीको निर्णय, अन्तरपार्टी जारी भएको निर्देशन, अध्यक्षद्वयले लेख्नुभएको सवाल जवाफको विषयमा सबै सचिवालय सदस्यले अध्यन गरेपछि मात्रै निकास निस्कने भएकाले अर्को मिति तय गरिएको छु उहाँले सञ्चारकर्मीलाई जानकारी दिंदै बताउनुभयो।
उहाँले बैठक बोलाउन सहमति दिन माग गर्दै प्रधानमन्त्री ओलीसमक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले पार्टी विभाजनउन्मुख अवस्थासम्म पुगेको थियो।

पार्टीसंग समन्वय नगरिकन गरिएको राजदूतको नियुक्ति, निर्दलीय प्रणालीको जसरी स्वतन्त्र ढंगले प्रधानमन्त्रीद्धारा गरिएको मन्त्रिपरिषद् पुनर्गठन, आफ्नै सरकारविरुद्ध प्रधानमन्त्री ओली निकट प्रदेश सांसदहरुद्धारा कणाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा ल्याइएको अविश्वास प्रस्ताव, मित्रराष्ट भारतका गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विड.(रअ)का प्रमुख सामन्त गोयलसंग आफ्नो पदीय हैसियत बिर्सेर गरिएको भेटवार्ता, कोरोना महामारी नियन्त्रणमा देखिएको असफलता र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयनमा गरिएको उपेक्षा, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नका लागि कार्यकारी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल,पार्टी उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई लिखित अनुरोध गर्नुभएको थियो ।
त्यसका जवाफ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुभएको छ।



















