
काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएका नेता सुनिल थापालाई पार्टीको सहमहामन्त्रीको जिम्मेवारी दिएको छ।
पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति नगर सानेपा,ललितपुरमा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनित गर्नुको साथै उहाँसगै नेपाली कांग्रेसमा प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ ।
काग्रेसले रामकृष्ण भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा)लाई केन्द्रीय सदस्य मनोनित गरेको छ भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गर्नुभएको थियो । थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।
नेपाली कांग्रेसको आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्यबहादुर के.सी. को निधन भई रिक्त भएको सीटमा स्याड.जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्न उपयुक्त प्रकृया अपनाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
आज बसेको बैठकले पार्टीको चौधौं महाधिवेशनका सन्दर्भमा जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणका लागि सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमिति र बढी सदस्य हुने जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्त कायम गर्ने निर्णय गरेको छ।
ग्लोबल टाइम्सको विरोध
शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले हुम्लामा नेपाली सीमा मिचिएको बिषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरी पठाउनुभएको प्रतिवेदनलाई आधिकारिक मान्दै त्यसका विरुद्धमा चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखको विरोध गरेको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको छ । साथै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता श्री जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिएको छ ।
केन्द्रीय समितिको बैठक पछि नेपाली कांग्रेसद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ ।’
नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन भन्दै प्रेस विज्ञप्तिमा भनिएको छ,’ नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।’
नेपाली काग्रेसले नेपालस्थित चिनिया दूतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल कम्युनिष्ट पार्टीको ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै दिनानुदिन बढिरहेको यसको प्रकोपबाट आम नागरिकहरुको जीवन कष्टकर हुँदै गएकोतर्फ संकेत गर्दै प्रतिपक्षीको दवाव र अदालतको आदेशका कारण निशुल्क परीक्षण र उपचार गर्ने घोषणा गर्न बाध्य भएपनि अस्पतालमा आवश्यक सैय््या व्यवस्था गर्न असमर्थ हुने स्थिति देखिएकोले त्यसमा ध्यान दिन आग्रह गरेको छ । कांग्रेसले कालाबजारी, कृतिम अभाव, मूल्यवृद्धि, वेरोजगारीका समस्यामा ध्यान दिन पनि सरकारलाई अनुरोध गरेको छ । प्रकृतिले पर्याप्त बर्षा गरिदिएको यो बर्ष किसानले मकै र धान जस्ता मुख्य बालीमा मलखाद हाल्न नपाएको प्रसंग उठाउदै नेपाली कांग्रेसले हिउँदे बालीमा मलखादको अभाव हुने स्थिति आउन नदिन पनि सरकारको ध्यानाकृष्ट गराएको छ ।
कांग्रेसको कार्य समितिको बैठकले इलाम, उदयपुर, सिरहा, रुकुम पश्चिम लगायतका जिल्लामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट विभिन्न पदमा निर्वाचित पदाधिकारीहरु पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७४ को व्यवस्था बमोजिम निजहरु निर्वाचित भएको पद रिक्त गरिदिनका लागि निर्वाचन आयोगलाई लेखी पठाउने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत दिने निर्णय पनि गरेको छ ।