Prakash Adhikari November 20, 2020

 

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

उहाँले उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको कामना गर्दै शुभकामना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले छठ पर्वको यस उल्लासका बीच विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९को महामारीलाई हामीले सामना गरिरहेको र यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुसरण गर्दै विशेष सावधानी अपनाएर यस वर्षको छठ पर्व मनाउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

उहाँले कोभिड–१९ को महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको र यस महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेका बताउनुभएको छ ।

यति बेला हामी जन निर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौँ प्रधानमन्त्रीले भन्नुभयो, सिङ्गो देश नयाँ संविधान अनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ ।

उहाँले छठ पर्वका अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान समेत गर्नुभएको छ । यसै एकतामार्फत हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौँ भन्ने विश्वास दिलाउन चाहन्छु, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

Share Now

Leave a comment.