
काठमाडौं,६ मंसिर। नारायणहिटी दरबारभित्र रहेको स्वगीय राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारदेखि संग्राहलय पुग्ने र इच्छा हुने सबैले हेर्नपाउने भएका छन् ।
यस अगाडि नारायणहिटी दरबारका बैठक कक्षहरु सर्व साधरण अवलोकनकर्ताकोलागि खुला गरिए पनि स्वर्गीय राजा बीरेन्द्रको निवास खुला गरिएको थिएन ।
संग्रहालयकाका विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार नारायणहिटी राजदरबारको श्री सदनमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजनको राज हुन्थ्यो ।
२०५८ साल जेठ १९ गते राती भएको शाही संहारमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।
आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुनेछ ।
२०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि सर्वसाधरणको अवलोकनका लागि खुल्ला भएको छैन । यो स्मारक ४५ करोड खर्चेर बनाइएको हो ।
राजसी शैली
स्वर्गीय राजा वीरेन्द्रकै इच्छा अनुसारको डिजाइनमा बनाइएको श्री सदन २०२३ सालमा बनेको हो । यसको तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मधुशाला र विश्राम कक्ष पनि भुइँतलामै छ ।
तत्कालीन युवराज दीपेन्द्रको कोठा पनि भुइँतलामै थियो । तर उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेपछि सो कोठा खाली थियो ।
श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र र रानी ऐश्वर्यको सयन कक्ष छ । रानी ऐश्वर्यको कोठामा उहाँले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।
दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठाहरु छन् ।
यस क्रममा तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ ।
त्यहाँ गोली लागेर अचेत अवस्थामा अस्पतालमा उपचाररहदा राजा घोषणा गरिनुभएक दीपेन्द्र, नारायणहिटीको शाही संहारमा गोली लागी मानिनुभएकी राजकुमारी श्रुती र युवराज निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।
श्रीसदनबाटै गणतन्त्र स्मारकमा जान सकिन्छ । तर अहिले बीचमा पर्ने टुकुचा खोलामा पुल नबनिसकेकाले नारायणहिटी दरबारबाट बाहिरिएर नागपोखरी नजिकको पूर्वी गेटबाट गणतन्त्र स्मारक प्रवेश गर्नुपर्दछ ।
राजाको भन्दा आलिशान भवन, विलासी जीवन शैली बिताइरहेका नेता र व्यापारीहरुका लागि कम आकर्षण हुने भएपनि सर्वसाधरण नेपालीलाई राजाको निवास र राजपरिवारका सदस्यहरुले प्रयोग गर्ने सर सामानहरुले नेपालमा इतिहास बनेको राजसी शैलीको बारेमा जानकारी भने दिनेछ ।