काठमाडौं, ७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित एउटा कार्यक्रममा भएको नाराबाजीलाई लिएर नेकपाकै केही नेताबीच सार्वजनिेक रूपमै आरोपप्रत्यारोप चलेको छ।
शनिवार चितवनको राप्ती नगरपालिका नगर कमिटी बैठकलाई पाण्डेले सम्बोधन गरिरहँदा नाराबाजी गरिएको थियो।
सो घटनाको ट्विटरमार्फत् भर्त्सना गरेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापाले ट्विटरमार्फत् नै जवाफ दिनुभएको छ।
शनिवार श्रेष्ठले आफ्नो एउटा ट्वीटमा भन्नुभएको छ, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवम् सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवम् भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’
आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क•सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) November 21, 2020
त्यसको जवाफमा सल्लाहकार थापाले आइतवार लेख्नुभएको छ, ‘बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेल चढ्नुभएको गाडीमाथि ढुङ्गा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ- गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी।’
बुटवलमा मुख्यमन्त्री शंकर पाेखरेलले चढ्नुभएकाे गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएकाे थियाे क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादकाे नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनाेटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी ! pic.twitter.com/VlS6Lqjmou
— Surya Thapa (@ThapajiSurya) November 22, 2020
के भन्छन् राजनीतिशास्त्री ?
पछिल्लो समय नेकपाको नेतृत्व पङ्क्तिबीच देखिएको मनमुटाव थप छताछुल्ल हुँदै गएको राजनीतिशास्त्री तथा विश्लेषकहरू बताउँछन्।
पार्टी अध्यक्षद्वय ओली तथा प्रचण्डले पत्रमार्फत् एकअर्कामाथि आरोप्रत्यारोप गरेपछि नेकपाभित्र जारी अन्तरसङ्घर्ष उत्कर्षमा पुगेको रूपमा पनि कतिपयले लिइरहेका छन्।
कार्यकर्ताहरूले चितवनमा गरेको नाराबाजीलाई केन्द्रमा देखिएको गुटबन्दी तल्लो तहमा पुगेको रूपमा अर्थ्याउँछन्।
‘माथि गुटबन्दी र त्यसको द्वन्द्व चर्को भइसकेपछि तल्लो तहसम्म मानिसहरू पक्षविपक्षमा विभाजित हुन्छन्।’
‘त्यति मात्रै होइन अहिले त के देखिन्छ भने आफ्नो पक्षमा कार्यकर्ता परिचालन गर्ने तहमा नेकपाको यो द्वन्द्व पुगेको छ’, खनालले थप्नुभयो।
अर्का राजनीतिशास्त्री कृष्ण पोखरेल प्रधानमन्त्री ओलीको समर्थनमा लकडाउनका बेला ठाउँठाउँमा गरिएका प्रदर्शनलाई ‘शक्ति प्रदर्शन’ भएको बताउँनुहुन्छ।
‘ओलीजीले अर्को पक्षलाई साइजमा ल्याउन सकिन्छ भनेर सोचेसम्झेको चाल पनि हुनसक्छ भने जिल्लामा रहेका कार्यकर्ताले आफ्नो वफादारी देखाउन काम गरेको हुनसक्छ’,उहाँले थप्नुभयो।
‘मलाई तलमाथि केही गर्न खोजियो भने मेरो पक्षमा कार्यकर्ता यसरी उल्टिन्छन् भन्ने कुराको आभास अर्को पक्षलाई गराएको पनि हुनसक्छ।’

कस्तो संस्कार देखाउँछ ?
यस्ता गतिविधिले राम्रो राजनीतिक संस्कार नभएको देखाउने राजनीतिशास्त्री पोखरेलको तर्क छ।
‘राजनीतिमा क्षयको बाटोमा जाने सोच हो यो। यस किसिमको गतिविधिले कुनै राम्रो संस्कार देखाउँदैन।’
तर प्राध्यापक खनालको चाहिँ यसमा केही फरक मत रहेको छ।
‘नेपालमा राजनीतिक संस्कारले कुनै आकार नै लिइसकेको छैन। यहाँको राजनीतिक संस्कार तरल अवस्थामै देखिन्छ।’
‘पार्टीहरूभित्र खेलको नियम नै बस्न सकेको छैन। जतिखेर जसलाई जे अनुकूल हुन्छ त्यसलाई नियम भनिदिने खालको अवस्था छ’, उहाँले थप्नुभयो।
कतिपयले नेकपा फुट्नसक्ने लख काटिरहँदा प्राध्यापक खनाल उक्त पार्टी तत्काल नफुटेर यहीँ अवस्था चुनावसम्म पनि जानसक्ने बताउँछन्।
‘यसको अन्तिम पटाक्षेपका लागि चुनावसम्म पुग्नुपर्ने अवस्था पनि हुनसक्छ’, राजनीतिशास्त्री खनालको अनुमान छ।(बीबीसी नेपाली सेवाबाट)


















