Prakash Adhikari November 22, 2020

 

मुम्बई(भारत), ७ कार्तिक(बीबीसी) । टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उहाँका श्रीमान् हर्ष लिम्बाचियालाई लागुऔषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ।

बीबीसी हिन्दीले नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)काअधिकारीहरूलाई उदृत गर्दै भारती सिंह र उहाँका श्रीमान् माथि गाँजा सेवन गरेको मामिला रहेको लेखेको छ।

लागुऔषधसम्बन्धी आरोपमा भारतीय हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको एक दिन पछि उहाँका श्रीमान्‌ हर्ष लिम्बाचिया पनि आइतवार पक्राउ परेका थिए।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान्‌ हर्षलाई आइतवार गिरफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गर्नुभयो।

भारती दम्पतिको घरबाट लागुऔषध गाँजा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन्।

यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उहाँलाई गिरफ्तार गरेका थिए।

आरोप
एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उहाँका श्रीमान्‌माथि गाँजा राखेको विषयमा आरोप छ।

एनसीबीले भारती सिंहको घरमा ८६.५ ग्राम लागुऔषध फेला पारिएको जनाएको थियो। उहाँका श्रीमान् हर्ष लिम्बाचिया पटकथा लेखक हुन्।

रीयालिटी सो इन्डियाज बेस्ट डान्सर कार्यक्रम चलाउने यी दम्पतीलाई सोधपुछका लागि भन्दै पक्राउ गरिएको विवरणहरूमा जनाइएको छ।

अधिकारीहरूका अनुसार मनोरञ्जन उद्योगमा हुने भनिएको अवैध लागुऔषधको प्रयोग बारेको अनुसन्धान अन्तर्गत नै यी दम्पतीको घरमा छापा मारिएको हो।

गत जुन महिनामा मृत्यु भएका बलिवूड नायक सुशान्तसिंह राजपूतसँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहँदा थुप्रै कलाकारमाथि यसअघि पनि एनसीबीले सोधपुछ गरिसकेको छ।

चौँतीस वर्षीय राजपूत गत जुन १४ तारिखमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा फेला परेका थिए।

त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको जनाएको थियो।

 

Share Now

Leave a comment.