काठमाडौं, ९ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ। बाँकी १० प्रतिशत नगद लाभांश दिने छ।
कम्पनीले लाभांश पारित गर्नका लागि मंसिर ३० गते वार्षिक साधारणसभा डाकेको छ। सभा भर्चुअल माध्यमबाट हुने छ।
कम्पनीले नगद वापत सेयरधनीलाई १ करोड ५३ लाख ५७ हजार रुपैयाँ वितरण गर्ने छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ करोड ८३ लाख ९३ हजार रुपैयाँले बढ्ने छ।
कम्पनीको सेयर मूल्य प्रति कित्ता ६९०० रुपैयाँ पुगेको छ।
नेपालमा नुन व्यापारमा एकाधिकार जमाएको साल्ट टे्रडिड.ले कागज, चिनी, ग्यास, मल र खाद्यान्नसमेतको व्यापार गर्दै आएको छ।
दोस्रो बजार कारोबारको लागि करिब साढे १५ लाख जति कित्ता सूचीकृत साल्ट ट्रेडिड.को सेयर मूल्य ठिक एक वर्षअघि प्रतिकित्ता ९०० रुपैयाँको हाराहारी थियो।
तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले साधारण सभाको स्वीकृति नदिएर आ.ब.२०७४/७५ यता कुनै पनि सभा नगरेको साल्ट टेड्रिड.ले अर्थमन्त्रालयको कमान विष्णु पौडेलले सम्हालेपछि साधारण सभा गर्ने अनुमति पाएको हो ।
लामो समयदेखि कम्पनीलाई अध्यक्ष लक्ष्मीदास मानन्धरले सफल नेतृत्व दिंदै आउनुभएको छ । कम्पनीलाई मुनाफामा लैजान सञ्चालकहरु कीर्तिकुमार जोशी, कल्याणगोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचनले पनि ठूलो योगदान गर्नुभएको छ । कम्पनी नेपालमा सुशासन भएका संस्थामा गनिन्छ ।
कम्पनीले विगत २०६७/६८ देखि २०७५/७६ सम्म न्यूनतम २० प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म लाभांश दिएको छ। यस्तै, हालसम्ममा अधिकतम ३५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगदसम्म दिएको छ भने कममा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसम्म दिएको छ।
कम्पनीले पछिल्लो तीन वर्षदेखि भने यसले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिंदै आएको छ ।



















