वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ९ मंसिर । २ सय ३१ वर्ष लामो अमेरिकी प्रजातान्त्रिक इतिहासमा संयुक्त राज्य अमेरिकाको पहिलो पटक महिला अर्थमन्त्री पाउने भएको छ ।
राष्ट्रपति निर्वाचित जो बाइडनले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी पूर्वप्रमुख जेनट यलनलाई मुलुकको अर्थमन्त्रीको जिम्मेवारी दिन लाग्नुभएको छ ।
कोभिड महामारीले थिलोथिलो भएको अर्थतन्त्र सम्हाल्ने गरी ७४ वर्षीय अर्थशास्त्री यलन अर्थमन्त्री बन्न लाग्नुभएको हो । यलन महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुन्छ भन्ने केन्सियन विचार राख्ने अर्थशास्त्री हुनुहुन्छ।
अमेरिकामा केही महिनाअघि बेरोजगारी दर दोस्रो विश्वयुद्ध यताकै उच्च विन्दुमा पुगेको थियो। हाल बेरोजगारी दर केही घटेको भए पनि आर्थिक वृद्धि दर सुस्त नै छ।
यलनलाई राष्ट्रपति बाराक ओबामाले २०१४ मा ४ वर्षे कार्यकालका लागि फेडरल रिजर्भको प्रमुख बनाउनुभएको थियो। सन १९७० को दशकदेखि कायम भएको परम्पराविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनलाई दोस्रो कार्यकालका लागि मौका दिनुभएन। बरू ट्रम्पले चुनावी अभियानका क्रममा बेरोजगारी घटाउन, उत्पादन बढाउन, महँगी घटाउन नसकेको आरोप यलनलाई लगाउनुभयो।
ट्रम्पले अर्थतन्त्र बुझेका छन् त भन्ने प्रश्नमा यलनले ‘कत्ति पनि बुझेका छैनन’ भन्ने टिप्पणी गर्दै आउनुभएको थियो।
पछिल्लो समय उहाँले कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि संघीय सरकारले खर्च बढाउनु पर्ने तर्क गर्दै आउनुभएको छ।
‘सर्वसाधारणले धेरै दुःख पाएका छन्, सरकारले खर्च बढाउनुको विकल्प छैन,’उहाँले भन्नुभएको थियो।
इलन युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले अर्थशास्त्रको प्राध्यापक हुनुहुन्थ्यो। त्यसअघि उहाँले हार्वड, लन्डन स्कुल अफ इकोनोमिक्समा पनि अध्यापन गर्नुभएको थियो। उहाँका पति जर्ज अकरलोफ नोबेल बिजेता अर्थशास्त्री हुनुहुन्छ।
डेमोक्रेटिक पार्टीभित्रकै प्रगतिशील समूहले सिनेटर एलिजावेथ वारेन अर्थमन्त्री बन्ने अनुमान गरेका थिए। यलन अर्थमन्त्री हुने समाचार प्रकाशित भएपछि वारेनले ट्विटरमा ‘अद्वीतिय छनौट‘ भन्ने टिप्पणी गर्नुभएको छ ।



















