डेलाबर(संयुक्त राज्य अमेरिका), १० मंसिर(बीबीसी) । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरिसक्नुभएको छ।
बाइडनले आफ्नो समूहको घोषणा गर्दै भन्नुभएको छ, ‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’
यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्नुहुनेछ भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुनुहुने छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाउनुभए सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्नुहुने छ।
तर ट्रम्पले चुनावी हार स्वीकार गरिसक्नुभएको छैन र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्याइरहनु भएको छ।
ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी बाइडनले पाउने जनाएको छ।
बाइडनको भनाई

राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुन ः एकताबद्ध गराउने बताउनुभयो।
गृह राज्य डेलावेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गर्नुभयो।
आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उहाँको कथन छ।
तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ। यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ।’
बाइडनको रोजाइ
राष्ट्रपति निर्वाचित बाइडनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिनुभएको छ।
बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताउनुभएको छ।
अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उहाँको भनाइ छ।
होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्ड्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गर्नुभएको छ।
पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि सत्य बोल्ने वाचा गर्नुभएको छ।
यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ।
साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरिसक्नुभएको छ।



















