
बर्दिबास(महोत्तरी), १० मंसिर । बालिका हत्या विरोधमा मंगलबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ ।
बिरोध प्रदर्शनका क्रममा भीडलाई तितरबितर गर्न प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर एकका करिब ४२ वर्षीय संजय भन्ने बुद्धिराज न्यौपाने घाइते हुनुभएको थियो । उहाँको तिघ्रामा गोली लागेको थियो।
स्थानीयवासीको प्रदर्शनमा प्रहरीको गोली लागि तीनजना घाइते भएका थिए। गोली लागेर घाइते भएका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको छ। गम्भीर घाइते बुद्धिराजलाई तत्काल बिनायक अस्पताल भर्ना गरिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाण्डौंस्थित ग्राण्डी अस्पतालमा ल्याइएकोमा उपचारकै क्रममा गए राति करिब १ बजे उहाँको मृत्यु भएको हो।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको आइतबार हत्या भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मंंगलबार सडकमा बालिकाको लाश राखेर यातायात अबरुद्ध गरी ठूलो विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले बालिकाको हत्याराको घर र पसल समेत आगजनी गरेका थिए ।
बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शनलाई तितरवितर पार्न दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो।
बालिका हत्या प्रकरण
बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझ चकलेट किन्न निस्केकी थिइन । तर उनी फर्किनन् ।
उनलाई किराना पसल गरी बस्ने अरुणकुमार साहले पसल पछाडि लगी मुख रुमालले छोपेर लुकाउन खोजे । सास फेर्न नपाएर बालिका मरेपछि उनले बोरामा हालेर राति खेतको बीचमा फाले । उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो ।
प्रहरी र प्रशासनको समेत सहयोगमा परिवारमा र टोल छिमेकमा बालिकाको खोजी भएपछि हत्याको भयले तर्सिएका अरुणले रक्सी खाएर अपराध लुकाउने चेष्टा गर्न खोजेका थिए । तर सकेनन् । उनले परिवारका सदस्यसंग अपराध कर्मको जानकारी दिए मन हलुंगो हुने आशामा परिवारका सदस्यसंग आफ्नो हातबाट बालिकाको मृत्यु भएको जानकारी दिए ।
परिवारले ज्यान लिने अपराध लुकाउन नसकिने ठहर गर्दै प्रहरीलाई जानकारी दिएपछि प्रहरीले अरुणलाई मंगलबार बिहानै पक्राउ गरेको थियो ।
प्रहरी र प्रशासन मिलेर अपराधीलाई छुटाउन सक्ने भन्दै बालिकाका आफन्त र छिमेकीहरुले दोषीमाथि कारबाहीको माग राख्दै सडकमा बालिकाको लास राखेर पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेका थिए । राजमार्ग खोल्ने क्रममा प्रहरीले थुप्रै राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो ।