Prakash Adhikari January 31, 2018

काठमाडौं,१७ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस धनकुटा जिल्ला, स्थानीय तह र भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिएको राजिनामा फिर्ता लिन आग्रह गरेका छन् ।

पञ्चायत कालमा समेत क्षेत्रीय सदरमुकाम रहेको धनकुटामा पुनरावेदन अदालत रहेकै बेला नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले प्रादेशिक राजधानी बनाउने अपेक्षा गरेका जिल्ला देखि स्थानीय तहका कांग्रेस पदाधिकारी र सदस्यहरुले विराटनगरलाई अस्थायी मुकाम तोकेपछि सामूहिक राजिनामा दिएका थिए ।

जिल्लाबाट प्रान्तीय राजधानी लगायत संगठनका विषयमा छलफल गर्न आएका धनकुटाका पदाधिकारीहरुसंग सभापति देउवाले पदमानै रहेर पार्टी र जिल्लाको पक्षमा काम गर्नका लागी राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले प्रदेशको नामाकरण र राजधानी तोक्ने जिम्मेवारी प्रदेश सभामा रहेको बताउदै राजनीतिक सहमति कायम गरेर प्रदेश सरकार गठन र प्रदेश सभाको अधिवेशनका अत्यावश्यक काम गर्नका लागि अस्थायी केन्द्र तोकिएको बताए । उनले धनकुटालाई प्रदेशको केन्द्र बनाउन नसकेकोमा आफूलाई समेत दुःख लागेको सुनाए ।

पार्टी सभापति ‘देउवाले पार्टीलाई क्रियाशील र सशक्त बनाउन सबै तहका पार्टी कार्यकर्ता र शुभेच्छुकको ठूलो खाँचो रहेको बताउदै राजिनामा फिर्ता लिई पार्टी संगठनको काममा सक्रिय रहन आग्रह समेत गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, निर्वतमान सभापति मनोहनर नारायण श्रेष्ठ, सचिव विजयसन्तोषी राई, पूर्व सल्लाकार प्रध्यापक गोपालप्रसाद अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रिय सभासद् तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रदेश प्रमुखको मुकाम तोक्दा धनकुटालाई अन्याय गरेकोले काम गर्ने वातावरण नभएकोले राजिनामा दिनुपरेको बताएका थिए ।

उनीहरुले अव धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नुपर्ने,आन्दोलन भैरहेकोले धनकुटामा गएर सरकारले वार्ता गर्नुपर्ने, धनकुटामा तत्काल महत्वपूर्ण कार्यालयहरु स्थापना गर्नुपर्ने लगायतका माग राखेका थिए ।

नेपाली कांग्रेस धनकुटाका पदाधिकारी सहितको काठमाडौं आएको प्रतिनिधि मण्डलले नेपाली काग्रेसका वरिष्ठ नेताहरु अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का ,नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल लगायत पार्टीका नेताहरुसंग छलफल गरी धनकुटालाई सरकार र पार्टी नेतृत्वको निर्णयबाट पटक पटक अन्याय भएकोले राजिनामा दिन बाध्य भएको जानकारी गराएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुले सवैलाई राजिनामा फिर्ता लिई साविककै पदमा रही धनकुटाको विकासमा समर्पित रहन र पार्टीलाई सशक्त पार्न सल्लाह दिएका थिए ।

Share Now

Leave a comment.