Prakash Adhikari January 31, 2018

बलाँच(दार्चुला), १७ माघ  ।  चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन आज(बुधबार)देखि शुरु भएको छ ।

पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेको आयोजनाको दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि बुधबार बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालनमा आएपछि दैनिक छ घण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख दाहालको भनाइ छ ।

पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको तीन/तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

३० मेगावाटको चमेलिया आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् ।

Share Now

Leave a comment.