
काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई आफ्नो सरकारको भ्रष्ट छविको स्वरुपको बारेमा जानकारी लिन ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढन सुझाव दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समिक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको उल्लेख गर्दै सो सुझाव दिनुभएको हो ।
पछिल्लो एकबर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु दुःखद त छ नै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ । कांग्रेसका प्रवक्ता शर्माले भन्नुभएको छ, अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ ।
भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने प्रधानमन्त्री स्वयं भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म विर्सिएर लागि परेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभएका के.पी.शर्मा ओलीले अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्नुभएको बताउनुभएको छ ।
वाइड बडी, यति देखि सेक्युरिटी प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कार्वाहीका लागि नेपाली कांग्रेसले विगत देखिनै संस्थागत निर्णयहरुका साथ माग राख्दै आएकोमा अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले तिनलाई समर्थन गरेको पनि उहाँले जनाउनुभएको छ ।
कांग्रेस प्रवक्ताले प्रतिपक्ष ,आम संचार माध्यम देखि ट्रान्सपरेन्सी इन्टरनेशनलसम्मले मात्रै होईन पछिल्लो एकबर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुंदागत तथ्य स्वयं नेकपभित्रै समेत लिखित रुपमै प्रस्तुत भइ सकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीब्र दबाब सृजना गर्न जरुरी भएको पनि उल्लेख गर्नुभएको छ ।