Prakash Adhikari November 29, 2020

काठमाडौं, १४ मंसिर । नेपालको निजी क्षेत्रको छाता संगठन मानिएको नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा आईएमई समूहका संस्थापक तथा अध्यक्ष चन्द्र ढकाल विजयी हुनुभएको छ ।

शनिवार राजधानीमा सम्पन्न महासंघको ५४ औं साधारणसभापछि भएको निर्वाचनमा महासंघको उपाध्यक्ष रहनुभएका चन्द्र ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्नुभएको हो ।

विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५ सय २२ र अर्का प्रत्यासी किशोर प्रधानले ३ सय ७५ मत ल्याउनुभएको छ। २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत हासिल गर्नुभयो भने ५० प्रतिशत मत भार रहेको जिल्ला(नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत प्राप्त गर्नुभएको छ ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत हासिल गर्नुभएको छ भने प्रधानले ४५.७४ प्रतिशत मात्रै मत प्राप्त गर्न सफल हुनुभएको छ ।

निर्वाचनमा भएको विजयसँगै महासंघको यसपछिको सर्वसम्मत अध्यक्षको जिम्मोरी ढकालले सम्हाल्नु हुने भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि २० औं अध्यक्षको रुपमा महासंघको महासंघको नेतृत्व सम्हाल्नु हुनेछ ।

एशोसियट उपाध्यक्षमा ढकाल समूहका रामचन्द्र संघाई विजयी

शनिवार सम्पन्न निर्वाचनमा महासंघको एशोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी हुनुभएको छ ।

व्यवसायिक घराना त्रिवेणी ग्रुपका संघाईले ज्योति ग्रुपका सौरभ ज्योतिलाई पराजित गर्दै महासंघको एशोसियट तर्फको उपाध्यक्ष निर्वाचित हुनुभएको हो।

निर्वाचनमा रामचन्द्र संघाईले ४ सय ५५ मत ल्याउनुभएको थियो भने सौरभ ज्योतिले ४ सय ३४ मत ल्याउनुभएको थियो ।

एशोसियट्स सदस्यहरुमा पनि अधिकांश किशोर प्रधान समूहका उम्मेद्बारको विजय भएको छ ।केन्द्रीय कार्यकारिणी सदस्यमा यस समूहबाट प्रतिनिधित्व हुने कुल १९ पदका लागि ३१ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये १० जना किशोर प्रधान प्यानलका र ८ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् । एक पदमा ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४ सय ५७ मत आएको छ । उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने छ ।

एशोसियट्समा निर्वाचित हुनेमा ढकाल समूहका अम्बिकाप्रसाद पौडेल, अविनाश बोहरा, कृष्णलाल महर्जन, गोपाल खनाल देशबन्धु बस्नेत भरतराज आचार्य, सुशिल थापा, सञ्जय गिरी निर्वाचित हुनुभएको छ ।

यस्तै, प्रधान समूहबाटआनन्द बगडिया,ज्योत्सना श्रेष्ठ, प्रबल जंग पाण्डे, रञ्जित आचार्य राजेश कुमार अग्रवाल विजयसिंह वैद्य शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, र हेमन्त गोल्छा निर्वाचित हुनुभएको छ ।

जिल्ला नगरउपाध्यक्षमा प्रधान समूहका दिनेश श्रेष्ठ बिजयी

नेपाल उद्योग वाणिज्य महासंघको शनिवार सम्पन्न निर्वाचनमा जिल्ला नगर सदस्यतर्फको उपाध्यक्ष र अधिकांश सदस्यको परिणाम प्रधान समूहको पक्षमा गएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

दिनेश श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गर्नुभएको हो । तिवारीले ४७ मत पाउनुभएको थियो ।

विजयी श्रेष्ठ महासंघको बागमती प्रदेशको अध्यक्ष रहनु भएको थियो भने वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । पराजित हुनुभएका तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ ।

चुनावमा ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएको बताइएको छ ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ , तारानाथ घिमिरे , शोभाकान्त पौडेल , कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत , चक्र बहादुर अधिकारी , अरुणराज सुमार्गी , देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर , कमान बहादुर खड्का , सुरकृष्ण वैद्य  हुनुहुन्छ ।

यस्तै, कुविर कुमार श्रेष्ठ , डिबी बस्नेत , गोपाल केडिया , महेन्द्र कुमार श्रेष्ठ , उमेश डालमिया , किशोर कुमार आचार्य  र अमृत भट्टचन पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको छ ।

जिल्ला नगरतर्फको पूरै १ सय ५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको थियो ।

बस्तुगतमा प्रधानसमूहका अन्जान श्रेष्ठ बिजयी


नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अन्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सदस्यमा दुवै समूहबाट बराबर सदस्य विजयी भएका छन् ।

किशोर प्रधान समुहबाट उठेका अन्जन श्रेष्ठले ६२ मत पाउनुभएको छ ने चन्द्र ढकाल समुहका उमेशलाल प्रधानले ३७ मत पाउनु भएको छ ।
व्यवसायिक समुह लक्ष्मी ग्रुपका अञ्जन श्रेष्ठ भवानी राणाको कार्यसमितिमा वस्तुगत तर्फ सदस्य रहनुभएको थियो भने उमेशलाल श्रेष्ठ वस्तुगतको उपाध्यक्ष हुनुहुन्थ्यो ।

बस्तुगतबाट निर्वाचित हुने १४ सदस्य सीटमा ७ जना किशोर प्रधानको समूहबाट र ७ जना चन्द्र ढकाल समूहबाट निर्वाचित भएका छन् ।

वस्तुगतमा प्रधान समुहबाट अरनिको राजभण्डारी, मनिषलाल प्रधान,मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, बिष्णु गैरे, शकुन्तलाल हिराचन र गोविन्द ढुंगेल विजयी बन्नुभयो भने ढकाल समुहबाट नरेशलाल श्रेष्ठ, भत्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता,आकाश अधिकारी, सुमितकुमार केडिया, विजयी हुनुभयो ।

प्रदेशका को को ?

महासंघको निर्वाचनमा देशका ७ प्रदेशबाट निर्वाचित हुने सदस्यहरुमा प्रदेश नं १ बाट मोरंग ब्यापार संघका राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनुभएको थियो भने अन्य ६ प्रदेशमा प्रतिस्पर्धा भएको थियो ।

यस प्रतिस्पर्धामा प्रदेश २ बाट महोत्तरी उद्योग बाणिज्य संघका विजय कुमार साह, वाग्मती प्रदेशबाट चितवन उद्योग वाणिज्य संघका सहनलाल प्रधान, गण्डकी प्रदेशबाट लेखनाथ उद्योग वाणिज्य संघका बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट चन्द्रौटा उद्योग वाणिज्य संघका जमशेर मिया, कर्णाली प्रदेशबाट डोल्पा उद्योग वाणिज्य संघका लालिमान बूढा तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली उद्योग वाणिज्य संघका पुष्पराज कुँबर निर्वाचित हुनुभएको छ ।

यस्तै संस्थापक उद्योग वाणिज्य संघका तर्फबाट पोखरा उद्योग बाणिज्यका दामु अधिकारी निर्वाचित हुनुभयो भने द्धिराष्ट्रिय उद्योगवाणिज्य संघका तर्फबाट नेपाल इण्डोनेशिया च्याम्बर अफ कमर्स एण्ड इण्ड्रष्ट्रिजका संदीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८र०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।

वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्सको स्थापना भएपनि उद्योग र वाणिज्यका सबै विधाका व्यवसायीहरुलाई समेट्ने उद्देश्यले वि. सं. २०२२ सालमा लोकनाथ जोशीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरी महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । निवर्तमान अध्यक्ष भवानी राणा महासंघका १८ औं अध्यक्ष हुनुहुन्छ ।

१९ औं अध्यक्षको रुपमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक कार्यकाल जिम्मेवारी सम्हाल्नु हुनेछ भने ५४ औं साधारणसभाको निर्वाचनबाट विजयी बन्नुभएका वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्राप्त मतसहितको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

नतिजा

Share Now

Leave a comment.