
दमौली(तनहुँ), १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पक्राउ पर्नुभएको छ ।
व्यास नगरपालिका वडा नं.१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
आफूलाई प्रहरीले पक्राउ गरेपछि उहाँले ट्वीटरमा लेख्नुभएकोे छ, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’
भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु ।
साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !https://t.co/bTj1gHwknc— Ram Chandra Paudel (@RcPaudelNepal) December 2, 2020
सो पुलको उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरीले सुरक्षाका लागि प्रहरी कार्यालय लगेको बताएको छ । नेता पौडेलले भने शान्तिपूर्वक हिडडुल गर्न पाउने, विकास कार्यक्रममा सहभागी हुन पाउने र आफ्नो कार्यकर्ताको बीचमा जान पाउने लोकतान्त्रिक अधिकारलाई के.पी. ओली नेतृत्वको कम्युनिष्ट सरकारले अपहरण गरेको बताउनुभएको छ ।
वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा प्रहरीले वरिष्ठ नेता पौडेल तथा कार्यबाहक सभापति आलेलाई नियन्त्रणमा लिएको छ भने अन्य कांग्रेस कार्यकर्तामाथि अन्धाधुन्द लाठी प्रहार गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न नदिन नेकपा सांसद किसान श्रेष्ठ सक्रिय हुनुहुन्थ्यो ।
नेकपाकाँका कार्यकर्ताहरुले सदरमुकाम दमौलीमा प्रर्दशन गरेपछि जिल्ला प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सुरक्षा प्रबन्ध मिलाउन सक्नुहुन्थ्यो तर उहाँले पूर्वाधार विकास कार्यालय तनहुँलाई दबाब दिएर पुल उद्घाटन स्थगन गरिदिन अनुरोध भएको पत्र लेख्न लगाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले विज्ञप्तीमा जारी गर्दै तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको उल्लेख गर्नुभएको छ ।
नेता पौडेलले उदघाटनको कार्यक्रम स्थगित गर्नुको कुनै कारण र औचित्य नभएको बताउदै पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको टिप्पणी गर्नुभएको थियो
उहाँले पञ्चायतकालमा नेपाली कांग्रेसका कार्यकर्तालाई वृक्षारोपण समेत गर्न नदिने शक्ति र व्यक्तिहरु नै पुल उद्घाटन गर्दा शान्ति भंग हुन्छ भन्दै कुन विकास रोक्न खोजिरहेको आरोप पनि लगाउनुभयो ।
पुलको उद्घाटन कांग्रेसको वरिष्ठ नेताबाट गर्न नदिन उद्यत सत्तारुढ नेकपाको भातृ संगठन युवा सङ्घले दमौलीमा मोटरसाइकल र्यालीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सङ्घ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका १ का अध्यक्ष ज्ञानेन्द्र बसौला लगायत छन् ।
पौडेलको पक्राउको कांग्रेसका नेताहरुले विरोध गरेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गर्दछु। स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघियता विरोधी र तानाशाही काम हो।
— Bimalendra Nidhi (@BimalendraNidhi) December 2, 2020
पंचायतकालमा पनि दमौंलीमा तत्कालिक मण्डलेहरु यसैगरी कांग्रेस बिरुध्द भौतिक आक्रमण गर्ने, कांग्रेसका कार्यक्रमहरु बिथोल्ने, खेदने-थुन्ने गर्थे। आज नेकपा भित्रकै कुनै तत्व नवमण्डलेमा रूपान्तरण भएको छ । अलोकतान्त्रिक, असहिष्णु राजनीतिको अन्त्य गरौं ।
— Madhu Acharya (@MadhuAc98230582) December 2, 2020