
काठमाडौं, १७ मंसिर । राजधानीको पर्यटकीय क्षेत्र ठमेलका मनोरञ्जन व्यवसाय सञ्चालकहरुले लकडाउनसंगै बन्द भएको व्यवसाय शुरु गर्न सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरेका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनसंगै विगत ८ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक समस्याले ढाँड सेकिएको भन्दै उनीहरले व्यवसाय सञ्चालनमा उदार भैदिन सरकारसंग माग गरेका हुन् ।
प्रदर्शनकारीका बीचमा बसेर ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय शुरु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताउनुभयो ।
स्वदेशी र विदेशी पर्यटक तथा मनोरञ्जनप्रेमीहरुका लागि सेवा प्रदान गर्ने कल्चरल डान्स,लोकदोहोरी, डिस्को, नाइट क्लब, वार, पव,काराओके सहितका खाद्य,पेय रेष्टुँराका सञ्चालकहरुको सहभागी भएको सो विरोध प्रदर्शनका वक्ताहरुले आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले ध्यानाकर्षण गराउन विरोध प्रदर्शनमा आउन बाध्य भएको बताएका थिए ।
अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राखिने बताउनुभयो ।
‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देउ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’, ‘रोगभन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए ।