Prakash Adhikari December 3, 2020

दमौली(तनहुँ), १८ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ जिल्ला प्रशासनले बुधबार साँझ रिहाई गरेको छ ।
तनहुँको व्यास नगरपालिका १ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता पौडेलाई निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा प्रहरीले अपराह्न २ बजे पक्राउ गरी सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो । वरिष्ठ नेता पौडेललाई साँझ साढे ५ बजे छोडिएको थियो।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिइएका सबैलाई रिहाई गरिएको बताएको छ ।

आफू रिहाई भएपछि जिल्ला प्रहरी कार्यालय परिसर बाहिर उपस्थित भएका कार्यकर्ताहरुको नेतृत्व गर्दै नेपाली काङ्ग्रेसको तनहुँ पार्टी कार्यालयमा पुग्नुभएका वरिष्ठ नेता पौडेलले वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाउनुभएको थियो।

‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ।’
नेता पौडेलले प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको थियो।

थप कार्यक्रम सार्वजनिक गरिने

जिल्ला काङ्ग्रेस तनहुँले बुधबारको घट्ना सांकेतिक मात्र भएको र देशमा अधिनायवाद हावी हुने खतरा बढेको जनाउदै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ। काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गनुभएको छ।

बुधबार अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला संघका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थिए। उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा संघले सोही पुलमा बुधबार बिहान विरोधसभा आयोजना गरेको थियो।

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। वरिष्ठ नेता पौडेल काङ्ग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो। सोही क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो।

 

Share Now

Leave a comment.