
लण्डन(संयुक्त अधिराज्य), १८ मंसिर(बीबीसी) । जर्मन र अमेरिकी कम्पनीको संयुक्त अनुसन्धान र लगानीमा विकास गरिएको कोरोनाभाइरस खोपको प्रयोगका निम्ति बेलायतले अनुमति दिएपश्चात् त्यसले युरोपभरि राजनीतिक तरङ्ग उत्पन्न गरिदिएको छ।
युरोपेली युनियनका नियामक निकायले अझै उक्त खोपका आँकडा अध्ययन गरिरहेको छ।
अमेरिकी फाइजर तथा जर्मन बायोएनटेक कम्पनीको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै आममानिसमा खोप प्रयोग गर्ने बेलायत पहिलो देश बनेको छ।
कतिपय बेलायती मन्त्रीले आफ्नो देशले छिटो अनुमति दिन सक्नुका पछाडि ब्रेकजिट पनि एउटा कारण भएको बताएका थिए।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले ब्रेक्जिट कारण आफ्नो देशले युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूभन्दा चाँडो कोभिड खोपको प्रयोग स्वीकृती दिन सकेको बताउनुभएको छ।
‘हामी सम्पूर्ण सुरक्षा जाँच गर्छौँ र उस्तै प्रक्रिया पूरा गर्छौँ। तर ब्रेक्जिटका कारण हामीले ती सबै एकदमै छिटो गर्न सक्यौँ ‘, टाइम्स रेडिओसँग बोल्दै उहाँले भन्नुभयो।
अनि हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिज-मगले पनि ट्वीट गर्दै भन्नुभएको छ , ‘हामीले ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेका हौँ।’
तर ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै ब्रिटेनले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्नसक्ने बताएको छ।
ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण त्यसमा सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको जनाएको छ।
बेलायतका निम्ति जर्मनीका राजदूत आन्द्रियास माइकेलिसले भाइरस विरुद्धको लडाइँ कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याउनुभएको छ।
रुसमा पनि खोप लगाइने
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी सातादेखि आममानिसलाई खोप लगाउन अभियान शुरू गर्न स्वास्थ्य अधिकारीहरूलाई आदेश दिनुभएको छ।
कोभिड १९ का बिरामीहरूका निम्ति नयाँ अस्पतालहरूको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गर्ने कार्यक्रममा बोल्दै पुटिनले आगामी केही दिनमा रुसको स्पुटनीक फाइभ खोपको २० लाख मात्रा प्रयोगका निम्ति तयार हुने बताउनुभएको थियो।
रुसले गत अगष्टमै उसका नियामक निकायले खोप स्वीकृत गरेको बताएको थियो।
तर खोप परीक्षणमा महत्त्वपूर्ण मानिने तेस्रो चरणको सुरक्षा तथा प्रभावकारिता परीक्षण भने अहिले पनि भइरहेको छ।
रुसमा देशभरि खोप लगाउनका लागि आवश्यक परिमाणमा खोप उत्पादन भइसकेको छैन।
बेलायतले खोपको आम प्रयोगको अनुमति दिएको केही घण्टामा पुटिनको उक्त भनाइ सार्वजनिक भएको छ।