दमौली(तनहुँ), १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यास नगरपालिका तनहुँस्थित बुल्दीखोलाको पुलको बिहीबार उद्घाटन गर्नुृृभएको छ ।
व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १ः ३५ बजे पौडेलले उद्घाटन गर्नुभएको हो।
नेपाली कांग्रेसका नेता र कार्यकर्ताको प्रतिष्ठाको विषय बन्न पुगेको बुल्दिखोला पुल उद्घाटन समारोहमा बिहिबार ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित थिए।
उद्घाट्न कार्यक्रममा उपस्थित कांग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए।
उक्त कार्यक्रममा सहभागी बन्न कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल र शंकर भण्डारीलगायतका नेताहरू पनि दमौली पुग्नुभएको थियो ।

कांग्रेसका वरिष्ठ नेता पौडेल स्थानीय उपभोक्ता समितिको आमन्त्रणलाई स्वीकार गरी बुधबार पुल उद्घाटन गर्न जाँदा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो।
यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिए पनि दुई वर्षदेखि उद्घाटन हुन सकेको थिएन।
तनहुँका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो पुल आफ्ना नेताहरु तथा मन्त्रीहरुबाट गर्न चाहेका थिए । उपभोक्ता समितिले नेपाली कांंगे्रसका नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी उद्घाटन समेत गर्न आग्रह गरेदेखि नै आक्रोशित नेकपा कार्यकर्ताहरुले बुधबारको उद्घाटन भाड्न बिहान युवा संगठनको विरोध जुलुस निकालेका थिए ।
त्यसलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय तनहुँले १२ बजेदेखि ६ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो । निर्धारित समयमा पुल उद्घाटन गर्न जाँदा प्रहरीले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पक्राउ गरी प्रहरी कार्यालयमा राखेको थियो ।
उहाँको पक्राउविरुद्ध देशभर विरोध भएपछि साँझ प्रहरीले उहाँलाई छोडेको थियो ।
तरूण दलको आह्वानमा जिल्ला जिल्लामा विरोध

नेपाल तरूण दलले वरिष्ठ नेतामाथि दुर्व्यवहार भएको भन्दै देशैभर प्रदर्शन गर्न जिल्ला समितिलाई निर्देशन दिए अनुरुप देशका विभिन्न जिल्लामा प्रदर्शन भएको छ।
अध्यक्ष जितजंग बस्नेतले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै ‘हाम्रा वरिष्ठ नेता साथै नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यवाहक सभापतिलाई नियन्त्रण र दुर्व्यवहार गरेको विरोधमा सम्पूर्ण जिल्लामा सशक्त कार्यक्रमहरु संचालन गर्न तरूण दल केन्द्रिय समिति सबै जिल्ला समितिहरुलाई यो परिपत्रमार्फत निर्देशन दिनुभएको थियो ।


















