
टारा मक्केल्भी
क्यापिलटहिल, (वाशिंटन डीसी, संयुक्त राज्य अमेरिका), २१ मंसिर(बीबीसी) । ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पको बसाइ सकिन लाग्दा र चुनावको परिणामलाई चुनौती दिने प्रयास अदालतमा विफल भइरहँदा राष्ट्रपति निवास परिसरमा आश्चर्य लाग्ने किसिमको शान्ति छाएको छ।
सञ्चारसम्बन्धी उपनिर्देशक ब्रायन मोर्गेनस्ट्रन ह्वाइट हाउसको चिह्न सहितको ज्याकेट लगाएर वेस्ट विङ्को आफ्नो कार्यालयमा काम गरिरहनुभएको छ। माथिसम्म चेन लगाएर बसेकाले उहाँ बाहिर जान लागे जस्तै देखिनुहुन्थ्यो।
ओभल अफिसभन्दा केही ढोका मात्रै पर रहेको उहाँको कोठा अँध्यारो थियो र पर्दा पनि लगाइएको थियो।
उहाँका हाकिम अर्थात् राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको अर्को कुनामा हुनुहुन्थ्यो।
त्यो समयमा उहाँ चुनावी परिणामलाई चुनौती दिने अभियानको नेतृत्व गरिरहेका रुडी जुलियानी र पेन्सिलभेनियाको एउटा होटलमा ‘सुनुवाइका लागि’ बसिरहेका सांसदहरूसँग स्पीकर फोनमा कुराकानी गरिरहनुभएको थियो।
“यो चुनावमा धाँधली भएको थियो र हामी त्यसो हुन दिदैँनौँ,” फोनमा राष्ट्रपतिले भन्नुभयो।
मोर्गेनस्ट्रनले कम्प्युटरको स्क्रिनमा उक्त घटनाक्रमलाई नियालिरहेको भए पनि त्यसमा उहाँ एकाग्र हुनुभएको थिएन।
त्यसको केहीबेरपछि उहाँले आफ्नो कुर्सी घुमाए र एक आगन्तुकसँग कलेज, घरजग्गाको कारोबार, बेसबल र अन्तिममा सम्झनास्वरूप सुनिने जस्तै राष्ट्रपति ट्रम्पका उपलब्धि सुनाउनुभयो।
रुडी जुलियानी लगायतलाई स्पीकरमार्फत् ट्रम्पले सम्बोधन गर्दै
पेन्सिलभेनियामा मत परिणामलाई चुनौती दिने ट्रम्पको प्रयास सुनुवाइ भनिएको उक्त छलफल आयोजना भएको धेरै समय नबित्दै विफल भएको छ। कमजोर कानुनी धरातलमा मत परिणामबारे प्रश्न उठाइएको पाइएको थियो।
पुनरावेदन अदालतका एक न्यायाधीशले राष्ट्रपतिको चुनौतीमा ‘कुनै आधार’ नरहेको बताउनुभयो। मतपत्र प्रमाणित गर्दा त्यहाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ८० हजारभन्दा बढी मतले जितेको देखाएको छ।
एरिजोनामा पनि मतपरिणाम प्रमाणित गरिएको छ र सरकारी अधिकारीहरूले नयाँ राष्ट्रपतिले ज्यानुअरी २० बाट जिम्मेवारी सम्हाल्ने हिसाबमा सङ्क्रमणकालीन काम अघि बढाइएको जनाएका छन्।
ट्रम्प को रिस
ट्रम्पले अझै पनि आफू विजयी भएको दाबी गरिरहनुभएको छ। तर पर्दापछाडि ह्वाइट हाउसका अधिकारीहरूले अवस्था जस्ताको तस्तै देखिरहेका छन्।
उनीहरूलाई त्यहाँ आफ्ना दिनहरू घर्किँदै गएको जानकारी छ र उनीहरूले आफ्नो नेताले पराजय बेहोरेको सन्दर्भमा उनीबाटअलग हुनु उपयुक्त हुन्छ भन्ने बुझेकाछन्।
मोर्गेनस्ट्रन भन्नुहुन्छ, अहिले पनि सदाझैँ काम भइरहेको छ। ‘हामी उत्साहित छौँ र हामी अझै पनि मेहनतका साथ काम गरिरहेका छौँ।”
वेस्ट विङमा कैयौँ कार्यालय भए पनि त्यहाँ उहाँ मात्रै हुनुहुन्थ्यो । उहाँले हातमा कपडाको मास्क बोक्नुभएको थियो र त्यहाँ अर्को कोठामा बजिरहेको टेलिभिजनको मधुरो आवाज सुनिन्थ्यो।
साधारण अवस्थामा ती कार्यालयहरूमा मानिसहरूको भिड हुन्छ र सहयोगीहरूले चौबीसै घण्टा काम गरिरहेका हुन्छन्। तर अहिले त्यस्तो छैन।
ट्रम्पका लागि कुनै बेला एट्लान्टिक सिटी न्यूजर्सीमा रहेको एउटा क्यासिनोको व्यवस्थापन गरेका ज्याक ओ’डनेल भन्नुहुन्छ, राष्ट्रपतिसँग काम गरेका मानिसहरू यस्तो समयमा किन अलग हुन चाहन्छन् भन्ने उहाँले बुझ्नुभएको छ।
उहाँले भन्नुभयो, “यस्तो बेलामा तपाईँ संवेदनशील हुन चाहनुहुन्छ। कैसैले पनि गलत कुरा बोल्न चाहँदैन।”
सञ्चारसम्बन्धी उपनिर्देशक ब्रायन मोर्गेनस्ट्रन
उहाँ एक पटक अलि तल झुकेको छतको पुनर्निर्माणका क्रममा चलिरहेको कोठामा ट्रम्प हिडिँरहेको एउटा प्रसङ्ग सम्झनुहुन्छ। “त्यहाँ केही समस्याहरू थिए”, ट्रम्पले पुनर्निर्माणका त्रुटि तत्कालै देखेकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो।
“उनी हावामा उफ्रिए र छतमा मुड्कीले हाने,” ओ’डनेल भन्नुहुन्छ, “ट्रम्प रिसाएको बेलामा कोही पनि उनको छेउमा पर्न चाहँदैनन्।”
राष्ट्रपतिको आक्रोश, महत्त्वाकाङ्क्षा र हाँकका किंवदन्तीहरू नै छन्। आशिंक रूपमा उहाँ आफ्ना सकारात्मक कुरा बारम्बार दोहोर्याएर र विफलतालाई अस्वीकार गरेर सफल हुनुभएको हो।
उहााको आफ्नो जीवनको सुरुवातमा नै त्यस्तै खालको नेतृत्वदायी शैली स्थापना गर्नुभएको थियो र पछिल्लो समयमा त्यसलाई व्यापक बनाउनुभएको थियो।
अघिल्लो हप्ता वेस्ट विङको ब्रिफिङ कक्षमा उभिएर उहाँले सेअर बजारबारे जस लिनुभएको थियो। मोर्गेनस्ट्रनका अनुसार त्यसो गरेर राष्ट्रपतिले व्यापार सम्झौता सुधार र ऊर्जा स्वायत्ता सहितका आफ्ना नीतिका कारण बजारमा दिलाएको सफलताप्रति खुशी मान्नुभयो।
लगानीकर्ताहरूले चाहिँ बाइडेन प्रशासनलाई शक्ति हस्तान्तरणको विषय आधिकारिक रूपमा घोषणा भएकाले सेयरको मूल्य बढेको बताउनुभएको थियो। तर ट्रम्पका लागि उक्त जित उहाँको थियो।
ट्रम्पको विजयको दाबी वा पराजय स्वीकार नगर्ने उहाँको धारणाले अन्तिम नतिजालाई कुनै असर पार्दैन। बाइडेनलाई सत्ता सुम्पने प्रक्रिया अघि बढिसकेको छ।
सत्य अस्वीकार गर्ने प्रवृत्ति
तर पनि राष्ट्रपतिको धारणाको अर्थ रहन्छ किनभने धेरैले उहाँलाई प्रशंसा गर्छन्।
उहाँले अर्को चुनाव फेरि लड्ने या नयाँ सञ्चार साम्राज्य खडा गरून्, ह्वाइट हाउस छाडेपछि पनि उनीहरूले उहाँलाई पछ्याइरहन्छन्।
पेन्सिलभेनियामा ट्रम्पले सासंदहरूसँग कुरा गरेको दिन पनि, “चुनावी धाँधली रोक” भन्ने सङ्केतसहित समर्थकहरू होटलबाहिर जम्मा भएका थिए।
ट्रम्प समर्थक
ट्रम्पलाई चिन्ने व्यक्तिहरू आफ्नो विफलता ढाक्न ट्रम्पले वास्तविकता अस्वीकार गर्ने गरेको बताउँछन्।
ओ’डनल भन्नुहुन्छ, “उनको दिमागमा आफूले हार्ने हुनै सक्दैन। उनले कहिल्यै हार स्वीकार गर्दैनन्। उनले आफूबाट खोसियो भन्ने धारणा राख्नेछन्।”
ट्रम्प यतिबेला सिनेटमा रिपब्लिकनको पकड कायम गर्न लडाँइमा हुनुहुन्छ र उहाँ दोस्रो चरणको चुनावका उम्मेद्वारहरूलाई समर्थन गर्न शनिवार जोर्जिया जानुभएको छ।
ट्रम्पविरोधी भित्तेचित्र
मोर्गेनस्ट्रनको कार्यालयबाहिर एउटा खाली डेस्क कप वा गिलास राख्न प्रयोग गरिने कोस्टरले सजाइएको छ। त्यसमा लेखिएको छ, ‘असफलता कुनै विकल्प होइन।’
उक्त उक्तिले थोरै शब्दमा ट्रम्पको सिद्धान्त र कम्तीमा सत्ता नछाड्दासम्म राष्ट्रपतिको जिम्मेवारीलाई लिएर ट्रम्पले अँगालेको दृष्टिकोणलाई प्रकट गरिरहेको छ।