
वाशिंड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), २२ मंसिर(बीबीसी) । अमेरिकाको कोभिड १९ खोप सम्बन्धी कार्यदलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताउनुभएको छ।
मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आफूले आशा गरेको बताउनुभएको छ।
डा. सलोई द्रूत गतिमा कोभिड १९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख हुनुहुन्छ।
पछिल्ला दिनमा अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको दरमा उच्च विन्दुहरू देखा परेका छन्।
त्यहाँ दैनिक ज्यान गुमाउनेको सङ्ख्यासमेत २ हजार नाघेको छ।
वृद्धिको पछिल्लो क्रमले अस्पतालमा चाप बढेको भन्दै आइतवारबाट क्यालिफोर्निया राज्यका धेरैजसो भागका लागि नयाँ लकडाउन तय गरिएको छ।
तयारी
स्वीकृति पाउने सम्भावित मिति नजिकिरहँदा राज्यहरूले समेत खोप वितरणको तयारी गरिरहेका छन्।
बिहीवार एफडीएमा यूकेले स्वीकृति दिएको फाइजर कम्पनीद्वारा निर्मित खोपको स्वीकृतिबारे छलफल गरिँदैछ।
त्यसपछि १७ डिसेम्बरमा मोडर्नाले तयार पारेको अर्को खोपको स्वीकृतिबारे छलफल गरिँदैछ।
डा. सलोई द्रूत गतिमा कोभिड १९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख हुनुहुन्छ ।
डा. सलोईले आइतवार सीबीएस न्यूजसँग भन्नुभयो, ‘एफडीएले लिइरहेको यो निकै मिहिन र महत्त्वपूर्ण प्रक्रिया हो।’
‘मलाई थाहा भएका विवरणअनुसार मैले एफडीएले सकारात्मक निर्णय गर्ने आशा गरेको छु। तर पनि त्यो निश्चय नै उनीहरूको निर्णय हो’, उहाँले भन्नुभयो।
‘पहिलो चरणको खोप पठाउने काम त्यो स्वीकृति भएको भोलिपल्टै गरिनेछ।’
प्राथमिकता चयन
अमेरिकामा एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका दशौँ लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ।
कसलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भन्ने जिम्मा चाहिँ राज्यहरूको हातमा छ।