Prakash Adhikari December 7, 2020

 

काठमाडौ, २२ मंसिर । सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ऐतिहासिक साझेदारी भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ।

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ।

विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिनुभएको छ।

उहाँले भन्नुभयो, ‘यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। हामीले उचाइ निर्धारण गरेका हौँ।’

सगरमाथा
उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिनुभयो।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उचाइबारे नेपाल र चीनबीच ऐतिहासिक सहमति भएको बताउनुभएको छ।

नापी विभागको भनाई

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाडौं नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।

उक्त सहमति पछि नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो।

सगरमाथा
कोरोनाभाइरस महामारीका कारण सगरमाथाको आरोहण नेपालतर्फबाट बन्द रहँदा चीनले उत्तरी मोहडाबाट उचाइ मापनमा संलग्न प्राविधिक सहितको टोली सगरमाथाको चुचुरोमा पठाएको थियो।

दुवै देशले सर्वेक्षण सम्बन्धी कामहरू सम्पन्न गरी तथ्याङ्क प्रशोधन गरेपछि प्राप्त अन्तिम अंङ्कलाई नेपालको मन्त्रिपरिषद्ले अनुमोदन गरेको र त्यसलाई दुवै देशले संयुक्त रूपमा सार्वजनिक गर्ने अधिकारीहरूले बताउने गरेका छन्।

नयाँ उचाइ सार्वजनिक गर्ने मिति संयोजन गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले शुक्रवार बीबीसीसँग कुरा गर्दै सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्न चीनसँग दोहोरो सञ्चार भइरहेको बताउनुभएको छ
बाटो बनाउँदै

गोपनियता कायम राख्ने अधिकार

मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ मापनसँग सम्बन्धित रहेका कर्मचारीको योगदानको उचित कदर गर्ने र सर्वेक्षकहरूले सङ्कलन गरेका अभिलेखलाई सुरक्षित राख्ने निर्णय गरेको थियो।

त्यसबाहेक मापनसँग सम्बन्धित ‘कुनै गोप्य राख्नुपर्ने’ विषयमा गोपनियता कायम गर्ने व्यहोरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको बताइन्छ।

मन्त्रिपरिषद्ले उचाइलाई अनुमोदन गरेपछि भूमिव्यवस्था मन्त्री अर्यालले यसै महिनाभित्र चीन र नेपालले संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने बताउनुभएको थियो।

उहाँले सगरमाथाको उचाइ निर्धारण गरिनु राष्ट्रिय गौरवको विषय भएको उल्लेख गर्दै भन्नुभयो, ूविगतमा विभिन्न देशहरूले सगरमाथाको उचाइ नाप्दा अङ्कमा एकरूपता नआएर भिन्नता आएका छन्। र पहिला भारतका तर्फबाट नापिएको अङ्कले नै आधिकारिता पाइरहेको अवस्था छ।ू

बाटो बनाउँदै

मन्त्री अर्यालको भनाइ थियो, ‘अहिले चीनले आफ्नो तर्फबाट र हामीले हाम्रोतर्फबाट सगरमाथाको उचाइ नाप्दा संयोग के पर्‍यो भने चीन र नेपालको हिउँसहित उचाइ एउटै आयो। यो एउटा संयोग मिलेको छ।’

‘अरू मुलुकहरूले धेरै पटक हाम्रो शान, हाम्रो गौरव सगरमाथाको उचाई नाप्ने काम गरे नेपालमा नाप्ने सामर्थ्य विकास भएको थिएन। तर अहिले हामीले जुन खालको मापन गर्‍यौँ त्यसले विश्व जगतमा हाम्रो नापीको क्षमताको बढेको कुरा प्रष्ट भएको छ र यो ऐतिहासिक हो।’

नेपालको नापी विभागले एउटा अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गर्दै एकल रूपमा सन् २०१७ बाट सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको थियो।

नेपालको तर्फबाट पहिलो पटक अघि बढाइएको उक्त अभियानलाई राष्ट्रिय गौरवसँग जोडिएको थियो र विश्वलाई सगरमाथाको उचाइबारे सूचना दिनु आफ्नो उद्देश्य भएको नापी विभागले बताएको थियो।

विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ मा गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाउँदै नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइमा फेरबदल भएको हुनसक्ने आशङ्का गरेका बेला उक्त अभियान थालिएको थियो।

केही विज्ञहरूले भूकम्पका कारण सगरमाथा भास्सिएको हुनसक्ने टिप्पणी गरेका थिए।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो।

सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन्।

जर्ज एभरेष्ट
जर्ज एभरेष्टको नाममा सगरमाथाको अङ्ग्रेजी नामकरण गरिएको हो

नेपाल र चीनको सीमाना छुट्याउने विश्वको अग्लो हिमालको वास्तविक उचाइलाई लिएर काठमाडौं र बेइजिङबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो।

चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो।

चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा ३ दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो।

नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेको थियो।

तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका र भूउपग्रहण प्रणाली र रेडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका थिए।

 

Share Now

Leave a comment.