Prakash Adhikari December 7, 2020

 

सिबी अधिकारी

काठमाडौं । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधार गरेको कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको छ । इयूले नेपालको उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायतका उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै नेपाललाई कालो सूचीबाट हटाउने सङ्केत गरेको हो ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारको खुलेर प्रशंसा गरेको छ । यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने सङ्केत मिलेको हवाइ उड्ययन क्षेत्रका बिज्ञको बुझाई छ । इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ । ‘नयाँ हवाई उड्डयन विधेयक संसदमा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार छ,’ इयूले विज्ञप्तिमार्फत भनेको छ ।

नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने पनि इयूले जनाएको छ । खासगरी संसदमा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने इयूले स्पष्ट पारेको छ । इयूका अनुसार हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए/नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ । नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तरराष्ट्रियस्तर दर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्ने विश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । ‘इयूको विज्ञप्ति सकारात्मक छ, ओभरअल सेफ्टी (समग्र हवाई सुरक्षा) मा हाम्रो उपलब्धि राम्रो छ, नेपालले आफ््नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ,’ लामिछानेले भन्नुभयो ।

नेपालको हवाई सेवामा प्रश्न उठाउँदै इयूले सात वर्षअघि सन २०१३ डिसेम्बर ५ तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो । सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा युरोपमा प्रतिबन्ध लगाइएको थियो । यसअघि सन २०१७ आइकाओले नेपाली जहाजलाई चार वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो । क्यानले यही मंसिर १२ गते प्रकाशन गरेको ‘एभिएशन सेफ्टी रिपोर्ट–२०२०’ ले नेपालमा हवाई दुर्घटना दर घटेको तथ्य उल्लेख गरेको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको र यसबाट हुने मृत्युदर पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो १० वर्षका अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनाले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन २०१९ को एभिएशन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको छ । सन २०१० मा दुई दुर्घटनामा ३६ को मृत्यु भएको थियो । त्यस्तै हेलिकोप्टरतर्फ सन २०१९ दुई दुर्घटनामा सात जनाको मृत्यु भएको छ । क्यानका अनुसार नेपालको उडान सुरक्षादर आइकाओले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करीब ६७ प्रतिशत प्रगति गरेको छ । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको उल्लेख छ ।

आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र सो स्तरदरलाई ७५ प्रतिशत पुर्याउने लक्ष्यका साथ काम गर्नुपर्ने क्यानले उल्लेख गरेको छ । यसैबीच पर्यटनमन्त्री योगेश भट्टराईले इयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने सङ्केत दिएकामा खुशी व्यक्त गर्दै उसले जारी गरेको वक्तय स्वागतयोग्य भएको बताउनुभएको छ । यसैबीच आइकाओ दिवसका अवसरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित झण्डोत्तोलन कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा सङ्गठनात्मक पुनःसंरचना गर्नका लागि विधेयक तयार गरी सङ्घीय संसदमा छलफल गरिरहेको र संसदबाट ऐन पारित भएपछि इयूले उठाएका अधिकांश चासो सम्बोधन हुने मन्त्री भट्टराईले बताउनु भयो । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएका अवस्थामा युरोपेली सङ्घले सकारात्मक वक्तव्य जारी गर्नाले उत्साहित बनाएको मन्त्री भट्टराईको भनाई छ ।

क्यानका उपमहानिर्देशक राजकुमार क्षेत्रीले इयूको विज्ञप्तिअनुसार नेपालमाथि लगाएको उडान प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो । ‘इयूको विज्ञप्तिमा नेपाललाई कालोसूचीबाट हटाउने सङ्केत देखिन्छ, यसले हामीलाई उत्साहित बनाएको छ । नेपालले हवाई क्षेत्रमा गरेका सुधारको कागजात पठाएकै आधारमा इयूले प्रसंशा गरेको छ, यसबाट पनि प्रष्ट हुन्छ इयू मानसिक रुपमा तयार भइसकेको छ, अब प्राविधिक प्रक्रिया पूरा गरेर छिट्टै नेपाललाई सुरक्षा सूचीबाट हटाउनेछ,’ क्षेत्रीले भन्नुभयो ।

विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले पनि आइकाओको पाँच विषयवस्तुलाई आत्मसात गर्दै निरन्तरताको प्रयासबाट नेपालले उल्लेख्य प्रगति गरेको तथा आइकाओ दिवसकै सन्दर्भमा इयूले नेपालमाथि लगाएको उडान प्रतिबन्ध खुला गर्ने सङ्केत दिने गरी जारी गरेको विज्ञप्तिबाट नेपाल इयुको सुरक्षा सूचीबाट चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो । क्यानका अनुसार कोभिड सङ्क्रमण कम हुनासाथ इयूको प्रतिनिधिमण्डलले नेपालको हवाई उड्डयन क्षेत्रको प्राविधिक मूल्याङ्कनपछि नेपाललाई सुरक्षा सूचीबाट हटाउने छ ।

 

Share Now

Leave a comment.