Prakash Adhikari December 12, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ मंसिर(बीबीसी) । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ।

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएको बताउनुभएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताउनुभएको छ।

अमेरिकामा कोरोनाभाइरसका कारण २ लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ।

स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवारबाट खोप कार्यक्रम शुरू गर्ने बताउनुभएको छ।

फाइजरको खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।

गत बुधवार अमेरिकामा ३ हजार जनाभन्दा बढीको कोभिड १९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।

एफडीएको भनाई
बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएको थियो। तेइस सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थियो।

शुक्रवार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिनुभएको थियो र उहाँले भन्नुभएको थियो, ूडा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ। खेल्न छोड र जीवन रक्षा गर्।ू

वाशिङटन पोष्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रवार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिनुभएको थियो।

तर हानले सञ्चारमाध्यमलाई खोपलाई अनुमति दिन छिटो काम गर्न प्रोत्साहित गरिएको भन्दै मिडोजको फोनका बारेमा सञ्चारमाध्यमले गरेको चित्रण असत्य भएको बताउनुभयो।

राष्ट्रपति निर्वाचित जो बाइडनले भने नागरिकहरूले खोपमा विश्वास गर्नुपर्ने बताउनुभएको छ।

फाइजरले डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख मात्रा तयार गर्ने बताइएको छ।

 

Share Now

Leave a comment.