Prakash Adhikari December 14, 2020

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशमा कायम गरेको सर्वसत्तावादी अधिनायकवादी शासन शैली, बढ्दो महंगी,भ्रष्टाचार,कुशासन र कोरोना भाइरसको संक्रमण रोकथाममा देखिएको असफलताका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।

नेपाली कांग्रेसले गतबर्ष २०७६ चैत्र ११ मा लकडाउन लागेपछि सरकारको विरुद्धमा संगठित रुपमा विरोध प्रदर्शन गरेको यो पहिलो पटक हो । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शनको पूर्वसंध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझ एक अपील प्रकाशित गर्दै यो विरोध प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुका साथै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्नुभएको छ ।

आइतबार जारी गरिएको वक्तव्यमा सभापति देउवाले भन्नुभएको छ, “प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो आइतबारको सांकेतिक प्रदर्शन ।”

प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका नेता कार्यकर्ताहरुलाई थप जागरुकता र एकतासाथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गर्दै कांग्रेस सभापति देउवाले भन्नुभएको छ,” कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु ।”

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ भन्ने प्रश्न उठाउदै कांग्रेस सभापति देउवाले सोध्नुभएको छ, “शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोचशून्यता के हुन सक्दछ ?”

कांग्रेस सभापति देउवाले तनहुँमा पुल उद्घाटन गर्न जाँदा पार्टीका वरिष्ठ नेतालाई पक्राउ गर्नेदेखि कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटनाले हरेक नेपालीलाई गम्भीर बन्न बाध्य बनाएको उल्लेख गर्दै भन्नुभएको छ, ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ । कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।

दुईतिहाईको आडम्बर लिएर सत्तामा बसेको प्रधानमन्त्री के.पी. ओलीको सरकारको अकर्मण्यताका कारण मुलुकले विकास र समृद्धिको हैन विनास विपन्नताको अधोगतिको मार्ग पक्डिएको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति देउवाले बडो मार्मिक ढंगले भन्नुभएको छ, “कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठुला उधोगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा । शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन् । यी सबैको पीडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ । नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ ।”

उहाँले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको नेपाली कांग्रेसले प्रतिपक्षमा रहेपनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीता निर्वाह गरिरहेको दावी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “२९ गते सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ ।”

कांग्रेस सभापति देउवाले आजको विरोध प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा हार्दिक अपील गर्नुभएको छ ।

 

Share Now

Leave a comment.