
काठमाडौं, ३० मंसिर । कुमारी बैंकको बार्षिक साधारण सभाले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश पारित गरेको छ ।
सोमबार बैंकको कर्पोरेट कार्यालय नक्सालमा सम्पन्न २० औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सञ्चालक समितिले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।
साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. रा.को अध्यक्षतामा सम्पन्न भएको थियो।
आर्थिक वर्ष २०७६ । ०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम १खर्ब १५ अर्ब १३ करोड रुपैयाँ प्रवाह गरी संचालन मुनाफा २ अर्ब १४ करोड रुपैयाँ तथा १ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष २०७७ । ०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब २२ अर्ब २९ करोड रुपैयाँ तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ गरि ८६ करोड रुपैयाँको संचालन मुनाफा र ६० करोड २५ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ ।
उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६ /०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फर्म जूम मार्फत सेयरधनीहरुको धारणा समावेश गरेको थियो ।
बैंकको देशभरमा १ सय ८६ शाखा संजाल, १ सय ५० एटिएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई रहेको छ ।