
न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ३० मंसिर(बीबीसी) । अमेरिकामा महामारीको रुप लिएको प्राणघातक कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान सुरु भएको छ । तर कोरोना पीडित र मृतकको संख्यामा हालसम्म कुनै कमी आएको छैन् । खोेप सुरु भएको दिनसम्म त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्या ३ लाख नाघेको छ ।
अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स हुनुभएको छ।
ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गर्नुभएको छ।
‘अन्य कुनै खोप लगाए जस्तै भयो। खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने म चाहन्छु। हामी महामारीका माझमा छौं र हामी सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ’, सान्ड्रा लिन्ड्सेले भन्नुभयो।
सान्ड्रालाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
Today, ICU nurse Sandra Lindsay made history as the first American to be vaccinated.
"I felt a huge sense of relief after I took the vaccine… There is hope." pic.twitter.com/45RWerTqdX
— Archive: Governor Andrew Cuomo (@NYGovCuomo) December 15, 2020
यो वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो।
खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै लेख्नुभएको छ, ‘पहिलो खोप दिइयो। अमेरिकालाई बधाई! विश्वलाई बधाई!’
First Vaccine Administered. Congratulations USA! Congratulations WORLD!
— Donald J. Trump (@realDonaldTrump) December 14, 2020
अमेरिकाभर १५० वटा अस्पतालमा सोमवार खोप पुगेको ठानिएको छ
मृतकको सङ्ख्या बढ्दो
फाइजर/बायोएनटेकको झन्डै तीस लाख खोपहरू अमेरिकाभर बितरण गर्न लागिएको छ। त्यहाँका झण्डै १ सय ५० वटा अस्पतालहरूले सोमवारसम्ममा खोप पाइसकेको ठानिएको छ।
आगामी अप्रिलसम्म अमेरिकामा १० करोड व्यक्तिलाई खोप दिइने लक्ष्य राखिएको छ ।
फाइजर(बायोएनटेक खोपले गत शुक्रवार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति पाएको थियो।
देशमा महामारीको असर जारी रहँदा खोप दिन सुरु गरिएको हो। नोभेम्बर यता मृत्यु हुनेहरूको सङ्ख्या पनि अमेरिकामा बढिरहेको छ।
अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि एकदमै बढेको छ। कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अहिले १ लाख ९० हजारभन्दा बढी मानिसहरू अस्पताल भर्ना भएका छन्।
कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुने देशको सूचीमा अमेरिका सबैभन्दा माथि छ।