Prakash Adhikari December 15, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ३० मंसिर(बीबीसी) । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्।

यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याट उम्मेद्वार जो वाइडनले ३ सय ६ इलेक्टरल कलेज मत ल्याउनुभएको थियो भने रिपब्लिकन उम्मेद्वार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय ३२ मत हासिल गर्नुभको थियो।

अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन्।

यो प्रक्रिया भए पनि वहालवाला राष्ट्रपति ट्रम्पले भने मत परिणाम स्वीकार गर्ने ठानिएको छैन।

सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे।

वहालवाला राष्ट्रपति ट्रम्पले कतिपय राज्यमा त मुद्दा पनि हाल्नुभयो तर ती सबै अदालतले उहाँको दाबी अस्वीकार गरे।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्निया सोमवार मत हाल्ने अन्तिम राज्य थियो जहाँ ५५ इलेक्टरल मत छ। त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो।

मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो।

अबको प्रकृया

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ।

त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ।

इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उहाँको सङ्क्रमणकालीन टोलीले घोषणा गरेको छ।

 

Share Now

Leave a comment.