Prakash Adhikari December 16, 2020

 

काठमाडौं, १ पौष । नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या अढाई लाख नाघेको छ भने यस प्राणघातक भाइरसका कारण जीवन गुमाउनेहरुको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

मंगलबार विभिन्न जिल्लामा थप ९ सय ३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १४ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएसंगै कोरोना संक्रमित र मृतकको संख्या त्यति पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

केही सातायता दैनिक हुने परीक्षणको सङ्ख्या घटे पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ। अहिले काठमाडौंमा ३ सय १० सहित उपत्यकामा ४ सय ३८ जनामा कोरोनाभाइरस फेला परेका छन् ।

विगत २४ घण्टमा देशभरि ७ हजार १ सय १७ जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ३ सय ५१ महिला र ५ सय ८५ पुरुषमा कोभिड १९ पुष्टि भएको हो।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या साढे २ लाख नाघेको छ।

मन्त्रालयका अनुसार थप १ हजार ९ सय ९६ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।

अहिले देशभरि ९ हजार ८ सय ८१ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये आधाभन्दा बढी अर्थात् ५ हजार ३ सय ९३ जना काठमाडौं उपत्यकाका तीन जिल्लामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो तथ्याङ्कले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ।(स्रोतःबीबीसी नेपाली)

 

Share Now

Leave a comment.