Prakash Adhikari December 17, 2020

काठमाडौं, २ पौष। नेपालमा लक डाउन आरम्भ भएसंगै विगत ८ महिनापछि रोकिएको काठमाडौं दिल्ली अन्तर्राष्ट्रिय नियमित उडान सेवा बिहीबारदेखि पुनः आरम्भ भएको छ ।

नेपाल वायुसेवा निगमले बिहिबार बिहान काठमाडौंबाट दिल्लीको नियमित उडान थालेको छ। बिहीबार उडेको एअरबसको न्यारोबडी जहाजमा जहाजमा यात्रु अकुपेन्सी ९० प्रतिशत माथी रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभएको छ।

‘आजको उडानमा यात्रु अकुपेन्सी उल्लेख्य थियो। हामीले एयरबस ३२० न्यारोबडी जहाजबाट उडान गरेका छौँ ‘, करिश्माले भन्नुभयो।
निगमका जहाजले ११ः २० बजे काठमाडौ दिल्ली उडान गर्नेछ भने दिउँसो २ ०० बजे दिल्लीबाट काठमाडौं फर्कने छ। यो गन्तब्यका लागि निगमले एकतर्फी न्यूनतम उडान शुल्क करिब १४ हजार रुपैयाँ निर्धारण गरेको छ।

नेपाल र भारतकाबीचमा दुई देशका यात्रुहरुमात्र ओसार पोसार गर्ने भारतको एअरबबल कार्यक्रम अन्तरगत रहेर हवाई सेवा सञ्चालन भैरहेको छ । भारतको ध्वजावाहक वायुसेवा कम्पनी एयर इण्डियाले अर्को साता बिहीबारदेखि दिल्ली काठमाडौं दिल्ली उडान गर्ने जनाएको छ।

कम्पनीले दिल्ली काठमाडौं उडानका लागि सोमबार, मंगलबार र बिहीबार विहान ८ : ३० बजेको स्टल पाएको छ । ती दिन एअर इण्डियाका जहाज बिहान ११ः १५ बजे दिल्ली फर्कने छन भने आइतबार, बुधबार, शुक्रबार र शनिबार उसले दिल्लीबाट काठमाडौं आन १२ बजेको स्लट पाएको छ । ती दिनमा उसका जहाजहरु दिउँसो २ : ३० बजे दिल्ली फर्कने छन् ।

एअर इण्डियाले एकतर्फी उडान भाडादर १२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको र दुईतर्फी भाडादर २० हजार ४ सय रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

Share Now

Leave a comment.