Prakash Adhikari December 17, 2020

 

काठमाडौं, २ पौष । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेभ ह्वाटमोरलाई नियुक्त गरेको छ।

नेपाल क्रिकेट संघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी गर्दै ह्वाटमोरलाई अधिकारिक रुपमा नेपालको मुख्य प्रशिक्षक भएको घोषणा गरेको हो।

अष्ट्रेलियाका पूर्व क्रिकेटर तथा श्रीलंकालाई १९९६ को विश्वकप दिलाउने श्रेय पाएका प्रशिक्षक ह्वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बाबे क्रिकेट टिम तथा आईपीएलमा कोलकाता नाइट राइडर टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

उहाँले जिम्बाबे पछि भारतको केरला टिमलाई २०१७ देखि २०१९ सम्म प्रशिक्षण दिनुभएको थियो। उहाँले फेब्रुअरी २०२० मा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त हुनुभएको थियो।

जिम्बाबेको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण गर्नुभएका ६६ बर्षीय प्रशिक्षक ह्वाटमोरले अष्ट्रेलियाको लागि सात टेष्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो।

भारतलाई २००७ को बिश्वकपमा बंगलादेशले पराजित गर्दा ह्वाटमोरनै प्रशिक्षक हुनुहुन्थ्यो भने त्यसै बर्ष बंगलादेशले पहिलो टेष्ट जित्दा, अष्ट्ेलिया र दक्षिण अफ्रिकालाई पराजित गर्दा पनि उहाँले प्रशिक्षण दिनुभएको थियो। उहाँले पाकिस्तान क्रिकेट टिमलाई प्रशिक्षण गर्ने मौका पनि पाउनुभएको थियो ।

नेपालको मुख्य प्रशिक्षक नियुक्त भएपछि ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र नेपालमा काम गर्न उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ।

“डेभ नयाँ चुनौतीको लागि उत्साहित हुनुहुन्छ र उहाँ विश्वास गर्नुहुन्छ कि नेपालमा राम्रो क्रिकेट प्रतिभाहरु छन् र नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ। नेपाल सुन्दर देश हो र डेभ नेपालको युवा प्रतिभाहरुलाई अघि बढाउने चुनौती स्वीकार्न तयार हुनुहुन्छ।” उहाँका व्यवस्थापक कौस्तिभ लाहौरीले बताउनुभएको छ ।

सन् २०१७ जनवरीमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अघि उहाँ नेपाल आउनुभएको थियो। उहाँलाई ‘ब्याट एण्ड बल फाउन्डेसन’ ले नेपाल भित्र्याएको थियो।

Share Now

Leave a comment.