Prakash Adhikari December 18, 2020

लण्डन(संयुक्त अधिराज्य), ३ पौष(बीबीसी) । नेपाली शेफ सन्तोष साह ‘बिबिसी मास्टरशेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बन्नुभएको छ।

नेपाली खानालाई विश्वसामु परिचित गराउँदै सिराह कर्जन्हाका साह प्रतियोगितामा उपविजेता बन्नुभएको हो ।

अन्तिम चरणमा विजेता घोषित भएपछि बेलायतको चर्चित सेफ प्रतियोगिताका उपविजेता साहले भन्नुभएको छ, ‘ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दुःखी छैन’ ।

प्रतियोगिताको विजेता भने बेलायतकै २५ वर्षीय एलेक्स वेब विजेता घोषित हुनुभएको छ ।

पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’मा नेपाली शेफ सन्तोष शाहले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताउनुभएको छ।

केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आउनुभएको शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताउनुभएको थियो।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले ट्रफी हात लगाउनु मात्र जित नभएको र आफूले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको दावी गर्नुभएको छ । उहाँले नेपालका मौलिक खानाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेकोमा गर्व गर्दै भन्नुभएको छ, ‘मैले उपाधि जित्ने हिसाबले मात्र प्रतियोगितालाई लिइन । यो मेरो देशका मौलिक खानाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपूर्व मौका थियो । मैले पुर्याए । त्यसैमा गर्व छ ।’

प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिनुभएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उचो बनाउने श्रेय लिनुभएको छ।

अद्धितीय पाककला, सौम्य र मिजासिला व्यवहारले गर्दा लाखौं बेलायतीहरुलेसमेत उहाँको प्रशंसा गरेका छन्।उहाँले उपविजेताको उपाधि जितेपछि भन्नुभयो ‘म आज ज्यादै खुशी छु । मेरो यो सफलता मेरी आमा र नेपाल आमालाई समर्पित गर्न चहान्छु।’

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किनु भएको थियो । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गर्नुभएको थियो। १२ वर्षको उमेरमा नहर खन्न जाँदा आमाले टिफिन बट्टामा खाजा बोकेर आएको मिठो संझनाले फाइनल राउण्डको परिकार बनाउन प्रेरित गरेको उहाँको जिकिर थियो।

प्रतियोगिताका विभिन्न चरणमा उहाँले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक र भट्ट, मकैको रोटी, भाङको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार बनाएर बेलायतका खानाका पारखीसामु पस्केर विश्वभरका लाखौं नेपालीको मन जित्नुभयो।

फाइनल प्रतियोगितको दोस्रो चरणमा उहाँको प्रस्तुतिले निर्णायकहरुलाई पनि निकै भावुक बनाएको थियो । आफनो परिकार आफनी प्रिय आमालाई समर्पित गर्दे आफनो बाल्यकालका संझना गर्दा उहाँका गहभरी आँशु छचल्किएका थिए।

https://youtu.be/knIzHlBRvsE

केही निर्णायकहरुले त सन्तोषले बनाएको मौलिक नेपाली खानाको स्वादले आफू धन्य भएको बताए भने अर्का निर्णायकले उहाँकी आमा बेलायतमा भएको भए म गर्वले अंगालो हाल्थें भन्ने प्रतिक्रिया समेत दिएका थिए ।

उहाँले बेलायतका चर्चित पाककलासम्बन्धी टेलिभिजन प्रतियोगिता मास्टरशेफको फाइनल चरणमा पुग्नु नै आफ्नो सपना साकार भए सरह भएको बताउनु भएको थियो।

हाल लन्डनमा कार्यरत नेपाली शेफ सन्तोषले फाइनल चरणका छ प्रतियोगीमध्ये आफूलाई उभ्याउने क्रममा निर्णायकहरूबाट निकै प्रशंसा बटुल्नुभयो।

सेलेब्रिटी शेफ एन्ड्रू वङका लागि गत साताको सेमिफाइनलमा सन्तोषले नेपालको योमरी परिकारको परिष्कृत रूप प्रस्तुत गर्नुभएको थियो। योमरीभित्र चकलेट तथा काजु हालिएको थियो र माथि सुन्तला र दालचिनीले सजाइएको थियो। लगत्तै उहाँले भारतीयचिनियाँ शैलीको चिकन चिल्ली पनि पस्किनुभयो।

सन्तोष शाह

त्यो दिनको उत्कृष्ट परिकार भन्दै निर्णायकहरूले शाहलाई सोझै फाइनल चरणमा प्रवेश दिएका थिए ।

‘नेपाली परिकार विश्वभरि चर्चित फ्रेन्च खानालाई पनि टक्कर दिने खालका छन्’ भन्ने मान्यता राख्ने सन्तोषले भन्नुभएको छ,
‘मासुको एउटा फ्रेन्च परिकार टारटार हुन्छ। हामीकहाँ कचिला हुन्छ। के हामीले उनीहरूबाट सिकेको हो र। त्यो त हाम्रै हो नि। फ्रेन्चभन्दा हाम्रा विधिहरू धेरै छन्।’

प्रतियोगिता जित्ने ध्येयले  सहभागिता जनाएको भए उपाधि जित्न सकिने संभावना औल्याउदै सन्तोषले भन्नुभएको छ, ‘मसंग भारतका मौलिक खानाहरु बनाएको २० बर्षको अनुभव थियो । तर मैले यो प्रतिष्ठित विश्व मञ्चलाई नेपाली मौलिक खानाको प्रबर्धन गर्ने उपयुक्त अवसर सम्झे र अन्तिम चरणसम्म त्यसलाई नै प्राथमिकतामा राखे । यो नै मेरो लागि सन्तोषको विषय हो ।’

नेपाली खानाका पौष्टिक तत्व, स्वाद र शारीरिक स्वास्थ्यसंगको सम्बन्धका बारेमा पनि उल्लेख गरेर विश्वका होटल रेष्टुँराहरुको मिनुमा राख्न सामूहिक प्रयासको खाँचो भएको बताउने सन्तोषले भन्नुभएको छ, ‘नेपाली खानाको सबल पक्ष जे छ, त्यसलाई हामीले प्रचार गर्न सकेका छैनौ, अब प्रचार गर्न बिलम्ब गर्नु हुँदैन ।उहाँका अनुसार नेपाली खानालाई केही परिमार्जन (रिफाइनमेन्ट) गर्ने हो भने विश्वभर छुट्टै तहमा लैजान सकिन्छ।’

सन्तोष शाह

नेपालको हिमाली भेगका शेर्पाहरूले बनाउने उसिनेको आलुको विशेष सुपदेखि तराईमा बनाइने बगिया, नेवार समुदायको योमरी र थारु समुदायले बनाउने अनेकौँ परिकारसम्म सबैको बेग्लै स्वाद र विशेषता रहेको सन्तोषको अनुभव छ । उहाँ आफैलाई प्रश्न गर्नुहुन्छ, ‘अहिले रिसर्च गरेर लाग्यो २० वर्ष मैले भारतीय खानामा किन खेर फालेँ, नेपाली खानाबारे मैले पहिला किन सोचिनँ’।

प्रतियोगितामा तीव्र दबावमा काम गर्नुभएका सन्तोषले प्रत्येक चोटि प्रस्तुत हुँदा निकै अभ्यास गरेर आउँछु आउने गरेको पनि बताउदै भन्नुभयो, “ यस्ता प्रतियोगितामा क्यामराको दबाव हुन्छ र निर्णायकहरू पनि कडा हुन्छन्। हरेक चरणपश्चात् झन्‌झन् कडा प्रतिस्पर्धा ।”

सन्तोषको शेफ यात्रा

सन्तोष शाहको जन्म सिराहा जिल्लाको कर्जन्हा गाउँमा भएको थियो। उक्त गाउँ भारतसँगको सिमानानजिकै पर्छ।

सन्तोषका का दुई दिदी अनि पाँचजना दाजुहरू हुनुहुन्छ । उहाँ पाँच वर्षको हुँदा पिताको देहान्त भएको थियो । दश वर्षको उमेरमा पकेटखर्च जुटाउन स्थानीय मेलाहरूमा प्लास्टिकका झोला र अन्य सामग्री बेचेको सम्झना सन्तोषको मनमा ताजै छ ।

“साथीहरूसँग मिलेर म सात किलोमिटर पैदल हिँडेर गई पाउरोटी किनेर ल्याउँथे अनि मेलामा बेच्थेँ,” शेफ साहले भन्नुभयो “मेरो जिल्लामा नहर बनाउने आयोजनामा मैले मजदुरी पनि गरेँ।”

पन्ध्र वर्षको उमेरमा १० कक्षा पुग्नुभएका सन्तोष एसएलसी पास नभएपछि कामको खोजीमा साथीहरूसँगै भारतको गुजरात राज्यतिर हानिनुभयो ।

https://youtu.be/MfIFabj_0RY

अहमदाबादको स्थानीय रेस्टुराँमा भाँडा माझ्ने काम पाएपछि होटल लाईनमा लाग्नभएका सन्तोषले एकपछि अर्को प्रगति गर्दै जानुभयो । उहाँले अन्य होटलहरूमा काम गर्नुभयो, अङ्ग्रेजी सिक्नुभयो अनि होटल व्यवस्थापनमा डिप्लोमा पनि गर्नुभयो। सात वर्षको अन्तरालमा उहाँ एउटा पाँचतारे होटलको ‘कार्यकारी शेफ’ बन्न पुग्नुभयो।

उहाँले आयोजना गरेको एउटा खाना उत्सवले भारतमा चर्चा पाएपछि उहाँको नाम पनि फैलियो। लगत्तै लन्डनस्थित एक गुजराती व्यापारीले उहाँलाई काम गर्न बेलायत बोलाउनुभयो। कामको अनुमति, हवाई भाडा तथा अन्य खर्च व्यापारीले बेहोरेपछि सन्तोष सन् २०१० को अन्त्यतिर लन्डन प्रस्थान गर्नुभयो।

तर त्यो चाहेको जस्तो राम्रो रेस्टुराँ थिएन। त्यो काम छाडेर सन्तोष यूकेमा चर्चा बटुल्दै गरेको डिशुम नामक भारतीय चेन रेस्टुराँ आबद्ध हुनुभयो । उनले लन्डनमै बनारस तथा होटल ललितमा काम गर्नुभयो।

जोखिम वहन गर्न रुचाउने सन्तोष एक पटक राम्रै आम्दानी भइरहेको काम छोडेर सेलेब्रिटी शेफले चलाएको फ्रेन्च रेस्टुराँमा जानुभयो । त्यहाँ केही सिकेर उहाँ पुनः फेरि भारतीय रेस्टुराँमा फर्किनुभयो ।

अहिले सिनामन कलेक्शनमा प्रमुख शेफ तथा साफ्रन सर्कल यूकेमा कार्यकारी शेफको रुपमा कार्यरत सन्तोष लन्डनको मुटुमा एउटा नेपाली रेस्टुराँ खोल्ने विषय सम्भावित लगानीकर्ताहरूसँग कुराकानी गरिरहनुभएको छ। पहिले खासै रुचि नदेखाएका लगानीकर्ताहरुले मास्टरशेफमा  छनोट भएपछि गुलियो बचन दिएका छन् ।

सन्तोष शाह

हालसम्म अविवाहित नेपाली युवक सन्तोषका सामु अर्को पनि एउटा प्राथमिकता छ। अहिलेसम्म उहाँको लगन जुरेको छैन् । “यदि मैले खोजेको साथी भेट्टाएँ भने अर्को वर्ष बिहे गर्ने सुर छ। सायद यो सही समय पनि होला।”, सन्तोषले भन्नुभएको छ ।

बेलायत र विश्वभर रहेका नेपालीहरुको बधाई पाइरहनुभएका सन्तोषले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन जुन मिहेनत गर्नुभयो, त्यो स्तुत्य छ । उहाँले नेपाली खाना विश्वसामु पस्किने  एउटा दुर्लभ अवसरको सही सदुपयोग गर्नुभएको छ। नेपालीको शान र मान राख्नुभएको छ ।

 

Share Now

Leave a comment.