Prakash Adhikari December 18, 2020

 

काठमाडौं, ३ पुस । नेपाल वायुसेवा निगममा कार्यरत वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सबोच्च अदालतले अमान्य गरिदिएको छ ।

सर्वोच्च अदालतले गत मंसीर २९ गते उहाँको पक्षमा फैसला सुनाएको हो ।

लकडाउनका समयमा गत चैत्र १५ गते कोरोना भाइरस संक्रमणको आशंका लागि संकलन गरिएका स्वाब लिन नेपालगञ्जमा पठाइएको नेपाल एअरलाइन्सको वाई १२ जहाज रनवेबाट अलिकति बाहिर पुगेको बिषयलाई लिएर प्राधिकरणले उहाँको उडान लाइसेन्स २८ मार्च २०२०देखि लागु हुने गरी एक बर्षको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

उहाँले सो दुर्घटनाबाट कुनै धनजनको क्षति नभएको, बिमान पनि सामान्य मर्मतबाट चल्न सक्ने अवस्था रहेको र नेपाल वायुसेवा निगमले बीमा कम्पनीबाट बीमा वापतको रकम समेत बुझिसकेकोले प्राधिकरणलाई सो कारबाही फिर्ता लिन निवेदन पनि दिनुभएको थियो । तर प्राधिकरणले सो कारबाही फिर्ता लिन कुनै कदम नचालेपछि यसले आफ्नो व्यवसाय गरी बाच्न पाउने अधिकार संकुचित गरिदिएको कारण दर्शाउदै कारबाही फिर्ता गर्न उपयुक्त आदेश जारी गर्न सर्वोच्च अदालतमा २०७७ असार ३० गते रिट निवेदन दिनुभएको थियो ।

उहाँले रिट निवेदनमा प्राधिकरणले पूर्वाग्रह राखेर संस्थाको नियमविपरित कारबाहीको निर्णय गरेको र त्यसका कारणले आफूले विमान चालकहरुले अद्यावधिक रुपमा लिनु पर्ने तालिम लिन नपाएको, व्यवसाय जारी राख्न नपाएको, आफू सेवारत नेपाल वायुसेवा निगमले उसंग भएको करार विपरित करार भंग गरी सेवा गर्ने अवसरबाट बञ्चित गरेकोले व्यवसाय गरि खानपाउने आफ्नो संवैधानिक हकमा आघात पुगेको जनाउनु भएको थियो । उहाँले विमान उडान जस्तो संवेदनशील व्यवसायमा विमानभित्रका मेकानिकल तथा विद्युतीय उपकरणहरुमा अप्रत्यासित रुपमा आउने समस्याका साथै विमानस्थलमा जडान हुने उपकरणहरुको खराबीका कारण पनि यदाकदा विमान रन वेबाट चिप्लन पुग्ने घट्नालाई आधार बनाएर कारबाही गरिनु न्यायोचित नभएको बताउनुभएको थियो ।
उहाँले आफूमा विद्यमान उडान कौशल र ४ दशकको अनुभवले सो विमानलाई नियन्त्रणमा लिएर आफ्नो जीवनसमेत जोखिममा पारेर विमानमा क्षति हुन नदिएको पनि जिकिर गर्नुभएको थियो ।

नागरिक उड्डयन प्राधिकरणबाट एअर ट्रान्स्पोर्ट पाइलट लाइसेन्स(ए ०६१) लिएर निरन्तर ४० बर्षदेखि नेपाल र विश्वका विभिन्न देशमा डीएचसी ६, एचएस ७४८, बोइड. ७५७, सीआजे र वाई १२ जस्ता जहाजहरु १३ हजार घण्टा भन्दा बढी समय आकाशमा सुरक्षित उडान गरिसकेको दावी गर्नुभएको थियो ।

निगमको महाप्रवन्धकको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएका क्याप्टेन लिम्बू २०७५ माघ २० देखि नेपाल वायुसेवा निगममा करारमा कार्यरत हुनुहुन्थ्यो । बोइड. ७५७ का कुशल पाइलट लिम्बूले निगममा चीनबाट ल्याएका वाई १२ चलाउने पाइलटको अभाव भएपछि आवश्यक परे सो समेत चलाउने गरी करारमा सेवा गर्न मञ्जुरी दिनुभएको थियो । उहाँलाई निगमले ट्वीन ओटर र वाई १२ चलाउने जिम्मेवारी दिएको थियो । निगमले वाई १२ जहाजलाई थन्क्याउने निर्णय गरेपनि ट्वीन ओटर भने चालु छन् ।

 

Share Now

Leave a comment.