
ललितपुर, ३ पौष । अध्यादेश फिर्ता लिने सम्बन्धमा पार्टीको स्थायी समितिमा भएको सहमति समेत पालना गर्न आनाकानी गरेपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई एक्ल्याउने रणनीति अन्तरगत नेकपाका असन्तुष्ट नेताहरुले प्रमुख प्रतिपक्षी दलको सहयोग मागेका छन् ।
प्रधानमन्त्री ओलीले सत्ता सम्हाले यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ दलभन्दा एक कदम अगाडि बढेर उहाँलाई काँध थाप्न अग्रसर भएपछि प्रचण्ड र नेपालले कांग्रेससंग प्रतिपक्षको भूमिका निर्वाह गरी बहुदलीय संसदीय व्यवस्थाको मर्यादा जोगाउन शुक्रबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आग्रह गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतामाधव नेपालसंग नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले शुक्रबार अपरान्ह ४ बजे नेकपाका एक नेताको घरमा भेटघाट भएको थियो।
झण्डै एकघण्टा चलेको भेटवार्तामा नेकपाका दुवै नेताहरुले कांग्रेस सभापति देउवाको भूमिकाप्रति धेरै शंका व्यक्त गर्दै कांग्रेसले सदनदेखि सडकसम्म दह्रो भूमिका खेलिदिन पर्यो भन्ने आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच विभिन्न पदमा भागबन्डा हूँदै आएको र र संवैधानिक परिषदमार्फत त्यसलाई नै निरन्तरता दिने जोखिम यथावत रहेको भन्दै प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्न नेपाली कांग्रेसलाई दुवै नेताहरुले आग्रह गर्नुभएको थियो ।
दुवै नेताले शेरबहादुरजीको भूमिकाप्रति शंका छ, तपाईंहरूले कन्ट्रोल गर्नुस् भन्दै कांग्रेसका वरिष्ठ नेता पौडेललाई एलर्ट गराएको बताइएको छ ।
दुवै नेताहरुले प्रधानमन्त्री ओलीका कदमहरु अधिनायवादतर्फ बढ्दै गएको र त्यसलाई रोक्न सत्तारुढ दलभित्रबाट भएको जत्तिको प्रयत्न पनि बहुदलीय संसदीय व्यवस्थाको पक्षपाती नेपाली कांग्रेसको नेतृत्वले गर्न नसकेको भन्दै गणतन्त्रमाथि संकट ल्याएर संविधान असफल बनाएर अधिनायकवाद आएमा त्यसको जिम्मेवारी नेपाली कांग्रेसले पनि लिनुपर्ने चेतावनी पनि दिएको बताइएको छ ।
नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता पौडेलले आफ्नै पार्टीको प्रधानमन्त्री भएर पनि उहाँले के गर्नुहुन्छ, मुलुकलाई कता लैजादै हुनुहुन्छ भन्ने भेउ आफूहरूले पाउन नसकेको पनि बताउनुभएको थियो।
‘प्रधानमन्त्री केपी ओलीले कुन स्तरको कदम चाल्नुहुन्छ हामीले अझै आँकलन गर्न सकेका छैनौं,’ दुवै नेताहरुको भनाई उदृत गर्दै एक नेकपा नेताले बताउनु भयो, ‘तर ओलीलाई यत्तिकै छाड्न भने हुन्न, उहाँलाई सच्याउन जरूरी छ। त्यसमा नेपाली कांग्रेसको पनि सहयोग चाहिन्छ ।सभापतिलाई संझाइदिनुस् भन्ने आग्रह गरिएको थियो ।’
दुबै पक्षले भेटवार्तालाई औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।
माइतीघर मण्डलामा उखु किसानको धर्नामा सहभागी भएका पौडेल त्यहीँबाट प्रचण्ड र नेपाललाई भेट्न जानुभएको थियो।