
काठमाडौं, ४ पौष । नेपाल मानव सेवा आश्रमले वेवारिस र विक्षिप्त अबस्था भेटाएर उद्धार र उपचार गरी स्वस्थ्य बनाएका दुई जन बंगलादेशी नागरिक ममिना बेगम र मोहमद् बबुल आफ्नो घर बंगलादेश जाने भएका छन् ।एक रिपोर्ट :
आश्रम छाडेर जाँदै गर्दा मन भक्कानिएको छ तर आफ्नै देश फर्कना पाउँदा, ११ बर्षदेखी सम्पर्कविहीन भएको परिवार भेट्दा खुसीको आँशु बगेको छ ममिना बेगम र मोहम्मद बबुलको ।
उद्धारको समयमा मनोरोगको कारण घर परिवार र आफ्नो बारेमा समेत बेखबर ममिना बेगमको नाम मानवसेवा आश्रमले नै गीता मानव राखिदिएको थियो । क्षेतविक्षत भएको मन र करिब करिब कुहिएको हात लिएर खुला आकाशमुनी कष्टपूर्ण जीवन विताउन विवश गीता मानवलाई २०७२ बैशाख २५ गते चितवन राम नगरको जङ्गलबाट उद्धार गरी आश्रममा ल्याइएको थियो ।
ठूला शहरको छेउछाउको राजमार्गसँग जोडिएको जंगलमा बेवारिसे रुपमा मनोरोगी भई खुला आकाशमुनी रात बिताउन पर्ने बाध्यात्मक अवस्थाले एक चेलीलाई दिने पीडा र उनले सामाना गर्नुपर्ने जोखिमलाई हाम्रो हृदयले सजिलैसँग अनुभूति गर्न सक्दैन ।
एक पटक गीता दिदीको ठाउँमा आफ्नो छोरी चेली, श्रीमती वा आमालाई राखेर हेरौं त ?
पुरै हात कुहिएकी, मनोरोगको कारण आफैलाई समाल्न नसक्ने अवस्थामा मृत्युसँग पौठेजोरी खेलिरहेकी गीता मानव यदि सडकमै रहेको भए सायद उहाँको परिवारले उहाँलाई सदाको लागि गुमाउन पर्ने थियो ।
तर यस्तो हुन पाएन । घरबाट सम्पर्क विहीन भएको ५ बर्ष अघि उहाँलाई मानवसेवा आश्रमको टोलीले उद्धार गर्यो । करिब ६ बर्षसम्म आश्रमले उपचार गरायो र पारिवारिक स्नेह दियो । उहाँको हराएको स्मृति फिर्ता भयो । आफै विरामी बन्नुभएकी गीता अब अरु आफूजस्तै समस्यामा परहेकाहरुको सेवा गर्न तयार हुनुभयो। उहाँले आफ्नो परिवार र आफन्तको बारेमा बताउनुभयो ।
बंगलादेश घर भएको खुलेछि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दूतावाससँग समन्वय गर्यो । दूतावासले पनि राम्रै सहयोग गर्यो ।
गीता मानव मानवसेवा आश्रमले दिएको परिचय थियो । उहाँले आफ्नो नाम ममिना बेगम (मिनु) बताउनुभयो । उहाँ अचेल हरेकदिन छोरासँग घण्टौ भिडीयो कल गर्ने गर्नुहुन्छ । र यही पौष ८ गते उहाँ बंगलादेश एयरलायन्समार्फत घर फर्कदै हुनुहुन्छ ।
….र उनी ११ बर्षपछि घर फर्कदै थिइन । तर मृत्युको मुखबाट बचाएर पाँच बर्षसम्म सँगै राखेको मानवसेवा आश्रम पनि उहाँका लागि अर्को परिवार बनिसकेको थियो । त्यसैले एक परिवारको मिलन अर्को परिवारको विछोडको कारण बनिरहेको छ ।
बेसिसहर नपा ६ तल्लो मकैडाडाको चौतारीमा ६ बर्ष अघि बेवारिसे अवस्थामा फेटिएका बाबुलाल मानव (महोमद बबुल) पनि दिदीसँगै ८ गते नै घर फर्कदै हुनुहुन्छ । मानवसेवा आश्रमका महासचिव शुशिला केसी रुपा, १ नं. प्रदेश संयोजक रुपा केसी र आश्रमका अभिभावक नारायण ढुंगाना बाबुलाल दाई र गिता दिदीलाई लिएर पारिवारीक पुनर्मिलनको लागि यहि ८ गते बंगलादेश जाँदै हुनुहुन्छ । यस अघि पनि मानवसेवा आश्रमले नेपालका लागि बंगलादेश दूतावाससँग समन्वय गरी ३ जना बंगलादेशी नागरिकलाई स्वदेश फिर्ता गराइसकेको छ ।
नेपाल घुम्न आएको बेला ममिना बेगम परिवारबाट सम्पर्क विहीन भएको परिवारले बताएको छ ।
मानव सेवा आश्रमले ममिना बेगम र मोहम्मद् बबुलको सुखद भविष्यको लागि हामी भगवानसँग प्रार्थना गरेको छ ।