काठमाडौं, ४ पौष । पार्टीको स्थायी समितिले संविधानको अक्षर र भावनाको प्रतिकूल हुने गरी अनुपयुक्त समयमा अनावश्यक रुपमा ल्याइएको संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश फिर्ता लिन दिएको निर्देशन विपरीत त्यसलाई यथावत राखेर आफूविरुद्ध पार्टीको स्थायी समितिमा दर्ता भएको प्रस्ताव फिर्ता लिनुपर्ने आग्रह गर्दै पार्टीका कार्यकारी अध्यक्ष र सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलको निवास चहारेपछि नेकपाभित्रको संकट अरु गहिरिने संभावना बढ्दै गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बिहान ११ बजे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका लागि उहाँको निवास खुमलटार पुग्नुभएको थियो । उहाँले १ घण्टा १५ मिनेट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसंग छलफल गर्नुभयो ।
प्रधामन्त्री ओलीले झण्डै ४५ मिनेट प्रचण्डसँग एक्लै छलफल गरेपछि पूर्व निर्धारित कार्यक्रम अनुसार नै पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रचण्ड निवास पुग्नुभयो र त्यसपछि उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा तीन जनाको संयुक्त छलफल भयो।
विगतका सहमती विपरीत कार्यकारी अध्यक्ष प्रचण्डले दुईजनाबीचमा लेनदेन गरी पार्टी संगठनलाई तहसनहस बनाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य समाप्त पार्न लागेको थाहा पाएपछि मध्यान्ह १२ः१५ बजे वरिष्ठ नेता माधव नेपाल प्रचण्ड निवास खुमलटार पुग्नुभयो । नेपाल खुमलटार पुगेलगत्तै प्रधानमन्त्री ओली बारिनुभयो र त्यसको कही समयमै उपाध्यक्ष गौतम ।
वरिष्ठ नेता नेपाल आएका कारण प्रचण्ड निवासबाट बाहिरिनुभएका प्रधानमन्त्री ओली फर्कदा गृहमन्त्री रामबहादुर बादलको पुल्चोकस्थित मन्त्री क्वाटरमा पस्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भएको थियो। सोही छलफलका क्रममा प्रधानमन्त्री ओली थप छलफलका लागि शनिबार बिहान आफू खुमलटार आउने जानकारी दिनुभएको बताइन्छ ।
यता सचिवालयका सदस्य तथा पार्टीका उपाध्यक्ष बामदेव गौतम भने शुक्रबार प्रचण्ड नेपालले गरेको कार्यकर्ता भेलामा उपस्थित हुनुभएन ।
बामदेवलाई तटस्थ पारेर आफुतिर आकर्षित गरेको बेलामा सचिवालय र आफ्नो क्याबिनेटका गृहमन्त्री रहनुभएका बादलको निवासमा प्रधानमन्त्री पुग्नुले प्रधानमन्त्री सचिवालयमा बहुमत देखाएर स्थायी समितिमा पुगेका आफू विरुद्धको प्रस्ताव फिर्ता लिने तारतम्यमा लागेको संकेत मात्र दिएको छैन प्रधानमन्त्री ओली अध्यादेशहरु ल्याएर पार्टीभित्र र बाहिरका सबै विरोधीहरुलाई एकै खाल्डोमा जाक्ने अभियानमा लाग्ने खतरा देखिन्छ । उहाँका सहयोगीहरुले संसद विघटन गरेर मध्यावधिमा जान सुझाव दिंदै कानूनविद्हरुसंग सल्लाह लिइरहेको खबरहरु सार्वजनिक भैरहेका छन् ।


















