
काठमाडौं, ५ पौष । नेपाली कांग्रेसको शुभचिन्तक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवानिकट ई. उमेश प्रसाद थानी निर्वाचित हुनुभएको छ भने बाँकी पदाधिकारी र प्रायः सबै सदस्यहरु ई.ध्रुवराज थापाको प्यानलका उम्मेद्वारले जित्नुभएको छ ।
शनिवार भएको निर्वाचनको सातै प्रदेशको मतपरिणाम आइसक्दा कांग्रेसका सभापति देउवा निकट ई. थानीले देउवाइतर समूह निकट अध्यक्षका अर्का उमेदवार ई. ध्रुबराज थापालाई १ सय ५० मतको अन्तरले जित्नुभएको हो ।
अध्यक्षमा विजयी ई. थानीले १ हजार २ सय २२ र प्रत्याशी ई. थापाले १ हजार ७२ मत हासिल गर्नुभएको थियो ।
सिडेनको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ई. मन्दिप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा ई. सुमन पुडासैनी र कोषाध्क्षमा ई. श्याम दाहाल विजयी बन्नुभएको छ। उहाँहरु सबै ई.थापाको प्यानलबाट उम्मेद्वार बन्नुभएको थियो ।
त्यस्तै सदस्यमा सौगात रेग्मी, प्रवेश अधिकारी, निरज बराल,सुजित कोइराला, मानवेन्द्र निधि,नारायणकुमार घिमिरे,पुरुषोत्तम शर्मा,पुनम पाल,हरिस बोहोरा, सुदर्शन कुमार पौडेल, प्रपुजा के.सी. र भुवन पौडेल विजयी बन्नुभएको छ ।
सदस्यहरुमा पुरुषोत्तम शर्मा र पाल थानी प्यानलबाट बिजयी बन्नुभएको हो भने बाँकी सबै थापा प्यानलबाट ।
शनिबार भएको निर्वाचनमा जम्मा २ हजार ८ भोट खसेको थियो जसमा काठमाडौं केन्द्रमा १ हजार ६ सय ६४ र बाँकी छ प्रदेशका मतदान केन्द्रमा ३ सय ४४ मत खसेको थियो।