
काठमाडौं, ६ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट सांसदहरुको आज संसदभवन बानेश्वरमा बसेको बैठकले संघीय संसदको नियमित बैठक बोलाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।
भेलाले संविधानसभाबाट निर्मित नेपालको संविधानमा बहुमतमा रहेको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएकोले मानसिक सन्तुलन गुमाएका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन र नयाँ चुनावको घोषणा गैरसंवैधानिक भएकोले संविधानवमोजिम संघीय संसदको नियमित बैठक अविलम्ब बोलाउन माग गरेको हो।
‘नेपालको संविधान बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।
भेलाले देशमा विषय स्थिति उत्पन्न भएको भन्दै एकतावद्धभइ संविधान, लोकतन्त्र र कम्युनिस्ट पार्टीको भविष्यको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्ने संकल्प समेत गरेको छ।
भेलामा नेकपाका प्रतिनिधिसभाका ९३ र राष्ट्रियसभाका २४ सांसदको उपस्थिति रहेको थियो।
सदनको प्रक्रिया कसरी अगाडि बढाउने सभामुखले निर्णय गर्नसक्ने नेकपा प्रमुख सचेतक देव गुरुङले बताउनु भयो ।
प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये ९० जनाले संसदको विरोधमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रियसभामा नेकपाका ५० सदस्य छन्, जसमध्ये २४ जना प्रचण्ड–माधव नेपाल समूहले बोलाएको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।
सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।