Prakash Adhikari December 21, 2020

काठमाडौँ, ६ पौष । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताउनुभएको छ ।

मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुस्खी र मर्माहत बनेको उहाँले उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मलाई हिजोको घटनाले मर्माहत र दुस्खी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’

उहाँले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई संविधानविपरीत चालिएको स्टेप भन्नुभयो ।

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उहाँले बताउनुभयो ।
‘एउटा होइन, जनताले धेरै खुन पसिना बगाएर दुईवटा सविधानसभाबाट धर्मनिरपेक्षता र संघीयतासहितको संविधान आएको हो,’ उहाँले भन्नुभयो, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’

उहाँले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले ७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेकोमा चिन्ता व्यक्त गर्दै सबैलाई संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिनुभयो ।

उहाँले संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको गुनासो गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु । ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’

उहाँले अहिलेका राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान आफूले जनताका लागि अर्पण गरेको स्मरण गर्दै भन्नुभयो‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’

जनताको सर्वोच्च निकाय संसद् भंग हुँदा आफूजस्तै ३ करोड जनता मर्माहत भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘आशा र विश्वास गर्छु । यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ । मेरो विनम्र अनुरोध पनि गर्छु ।’

सभामा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री ओलीको भौतिक उपस्थिति थिएन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार नै राजीनामा दिनुभएको थियो । उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा सम्पन्न समारोहमां प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गरेका गर्नुभएको थियो। समारोहमा ५६ हजार ७ सय १३ विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओली विद्यार्थीहरुले विरोध गर्नसक्ने त्रासले नजानुभएको बताइएको थियो ।

Share Now

Leave a comment.