Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक पार्टी विभाजनको अपजस लिनबाट तर्सेको छ । केन्द्रीय समितिको बैठकबाट असन्तुष्ट समूहका अगुवाहरुलाई कारबाही गरी आफ्नो ढंगले बढ्ने अनुमानलाई असत्य सावित गर्दै सो बैठकले पार्टीको एकता महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको छ ।

बैठकले केन्द्रीय कार्यसमितिमा थप ५ सय ५६ जना मनोनित गरी १ हजार १ सय ९९ जनाको केन्द्रीय कमिटीको घोषणा गरेको छ । पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गरेका ५ सय ५६ जनाको नाम अनुमोदन भएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारी अनुसार नेकपाको कुल केन्द्रीय सदस्यको सङ्ख्या १ हजार १ सय ९९ बनाउने निर्णय भएको छ।

यसअघि नेकपामा झण्डै साढे ४ सयजनाको केन्द्रीय कमिटी रहेको थियो।

त्यसमा तत्कालै ५ सय ५६ जना थपिएका छन् र रिक्त रहेका १ सय ९६ जना पछि थप्ने तयारी ओली पक्षको रहेको छ।

आजको बैठकमा मनोनित सदस्यहरूको नाम बैठकले अनुमोदन गरेको र उनीहरूलाई पार्टीका प्रथम अध्यक्ष ओलीले शपथग्रहण गराएको थापाले जानकारी दिनुभएको छ।

ओली पक्षीय केन्द्रीय समितिले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । आजको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु परेको कारणबारे जानकारी गराउँदै चुनावका लागि एकताबद्ध भएर लाग्न निर्देशन दिनुभएको थियो ।

ओली पक्षीय केन्द्रीय कमिटीले आजको बैठकको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

अहिलेसम्म नेकपा विभाजन नभएको भन्दै ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको अर्को पक्षले बोलाएको बैठक अवैधानिक भएको जिकिर गरेको छ । पार्टी प्रवक्ता ज्ञवालीले प्रतिप्रश्न गर्दै भन्नुभएको छ,अध्यक्ष र महासचिवको सहमतिबिना नेकपाको बैठक बस्न सक्दैन। माइन्यूटबिना पनि बैठक हुन्छ र ?

उक्त भेलामा पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट लगायतका नेताहरू सहभागी भएका विवरण आएका छन्। तर हरिबोल गजुरेल र गृहमन्त्री रामबहादुर थापा भने उपस्थित हुनुभएको थिएन ।

 

Share Now

Leave a comment.