Prakash Adhikari December 23, 2020

काठमाडौं, ८ पौष। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् ।

केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

उहाँले केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले भोलिको बैठकले देशव्यापी विरोध प्रदर्शनबारेमा ठोस निर्णय लिने बताउनुभयो ।

बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।

बैठकले कोरोना भाइरस सङ्क्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी दिनुभएको छ । (रासस)

 

Share Now

Leave a comment.