Prakash Adhikari December 23, 2020

काठमाडौं, ८ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले २ सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पार्टीको वैधानिकताको दावी पेश गरेको छ।

हिजो मंगलबार थापाथली हाइटस्थित कार्की ब्यांक्वेटमा सम्पन्न मकेन्द्रीय समितिको बैठकमा ३ सय १५ को साथ रहेको जनाएको प्रचण्ड नेपाल समूहले बुधबार निर्वाचन आयोगमा पेस गरेको विवरणमा २ सय ८७ जना सशरिर उपस्थित भई हस्ताक्षर गरेको र तीन जना उपस्थित हुन संभव नभई समर्थनका लागि पठाएको चिठी समावेश गरेको छ।

बुधबार सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान र श्रीराम ढकाल आवश्यक कागजपत्रसहित आयोग पुगेका पुग्नुभएको थियो।

पार्टीको केन्द्रीय सहअध्यक्षको परिवर्तन लगायतका पार्टीको आधिकारिक निर्णय र तिनलाई समर्थन गर्ने कागजातहरुको फाइल नेकपाका प्रतिनिधिहरुले ५५५ नम्बरमा दर्ता गर्नुभएको थियो ।

नेताहरुले मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय, उपस्थित संख्या, ओलीलाई बैठक बोलाउन कात्तिकमा प्रचण्डसहितका ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा ओलीले लेखेको १० पृष्ठको पत्र, प्रचण्डले कात्तिक २८ गते सचिवालयमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रस्ताव, त्यसको जवाफमा ओलीले मंसिर १३ गते लेखेको ३८ पृष्ठको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएको छ।

त्यस्तै मंसिर २१ गतेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले लेखेको पत्र, केन्द्रीय सदस्यले बैठकमा उपस्थित हुन नसकी पठाएको पत्र, इमेल, नेकपाको अन्तरिम विधान, अन्तरपार्टी निर्देशन १ र ५ तथा विभिन्न समयमा स्थायी समितिले गरेको निर्णय समेत निर्वाचन आयोगमा बुझाइएको छ।

नेकपा प्रतिनिधिहरुलाई आयोगका पदाधिकारीहरुले कागजात अध्ययन गरेर फेरि बोलाउने आश्वासन दिनुभएको थियो । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४ सय ४१ केन्द्रीय सदस्य थिए। पछि चार जनालाई मनोनित गरी थपिएको थियो। त्यसमध्ये तीन जना केन्द्रीय सदस्यको मृत्यु भएको छ।त्यसैगरी तीन जनाले राजनीतिक नियुक्ति र पाँच जनाले संवैधानिक नियुक्ति पाएका छन्। त्यस्ता नियुक्ति पाएपछि उनीहरु केन्द्रीय सदस्यको रुपमा सक्रिय रहँदैनन्। कार्यरत केन्द्रीय सदस्यको संख्या ४ सय ३४ हो, त्यसमध्ये २ सय ९० को हस्ताक्षर आयोगमा बुझाएका नेकपा नेताहरुले अरु केन्द्रीय सदस्यहरु पनि थपिनेमा विश्वस्त हुनुहुन्छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा गरेको बैठकमा १ सय १३ जना उपस्थित भएको प्रचण्ड र नेपाल पक्षका नेताहरुले बताउनुभएको थियो ।

नेकपा नेता पोखरेलले वैधानिकताका लागि चाहिने सबै प्रमाणहरु आफूहरुले आयोगलाई बुझाएको र आयोगले कानुनअनुसार काम गर्नेमा विश्वस्त रहेको नेता पोखरेलले बताउनुभएको छ।

‘हामीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएका छौं’, दर्ता गरेपछि नेता लीलामणि पोखरेलले भन्नुभयो, ‘उहाँले संविधान, कानुन, नियम, पार्टीको नियम हेरेर कुनै पनि अन्याय नगरी निर्णय गर्छौं भन्नुभयो।’

नेता पोखरेलको नेतृत्वमा मंगलबार निर्वाचन आयोगमा गएको एक प्रतिनिधि मण्डलले हिजोको कार्यसमितिको बैठकले पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीलाई पदबाट हटाएर सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरिएको जानकारी सहितको पत्र आयोगमा दर्ता गराएको थियो ।

हिजो नै प्रधानमन्त्री के.पी.. शर्मा ओली समूहको तर्फबाट केन्द्रीय कार्यसमिति विस्तारको सूचना निर्वाचन आयोगमा दर्ता गराइएको थियो ।

Share Now

Leave a comment.