Prakash Adhikari December 28, 2020

काठमाडौं, १२ पौष । संघीय संसदको प्रतिनिधिसभालाई असंवैधानिक तवरले विघटन गरिएको घट्नाको विरोधमा रहेको जनता समाजवादी पार्टीले आइतबार राजधानी काठमाडौ र बीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

राजधानीको रत्नपार्कबाट सुरुभएको विरोधप्रदर्शन जुलुस काठमाडौंको विभिन्न भाग हुँदै पुन रत्नपार्क आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दैसंघीय परिषद अध्यक्ष डा. बाबुराम भट्ठराईले गणतन्त्र र संघीयताको विरोधी के.पी. ओलीलार्ई प्रधानमन्त्री बनाउनु नै ठूलो गल्ती भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री डा.भट्टराईले मूर्ख प्रधानमन्त्रीहरुबाट संसदलाई जोगाउनकै लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पूर्ण समानुपातिक संसदको गठन गर्ने विकल्प अगाडि सार्दा कसैले नमानेपछि संसदलाई पूर्णकाल काम गर्न सक्ने बनाउन धारा ७६ राखेको बताउनुभएको थियो। उहाँले धारा ७६ मा संसदले बहुमतसिद्ध गर्न सक्ने प्रधानमन्त्री दिन संसद सक्षम रहेसम्म विघटन गर्ने कुनै प्रावधान नरहेको उल्लेख गर्दै अहिले सत्तारुढ नेकपाले नै प्रधानमन्त्रीको विकल्प दिन सक्ने र दिन पनि तयार रहेको अवस्थामा ओलीले प्रतिनिधिसभाको विघटन गरेको बताउनुभयो ।

कोणसभामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा अहिले कुर्सीका लागि प्रतिगमन भइरहेको बताउनुभयो । वरिष्ठ नेता महतोले भन्नुभयो, ‘पहिले राजा महाराजाहरुले प्रतिगमन गर्थे अहिले नयाँ—नयाँ राजा महाराजाहरुले प्रतिगमन गरिरहेका छन् । नेपाली जनताले कतिपटक सम्म प्रतिगमन भोग्नुपर्ने हो ?’

नेता महतो संविधान बनाउँदा आफ्ना कुराहरु नसुनेर सर्वस्वीकार्य संविधान जारी गर्न संविधानसभा चुक्नु नै प्रतिगमनकारीलाई षड्यन्त्र गर्र्ने मौका भएको भएको बताउनुभयो ।

नेता महतोले देशमा सबै नेपालीको अधिकार, पहिचान र समान प्रतिनिधित्व हुनेगरी संविधानलाई संशोधन गर्न आवश्यक भएको बताउदै संविधानमाथि खेलबाड नगर्न चेतावनी दिनुभयो ।

कोणसभामा जसपाका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर जनद्रोही काम गरेको आरोप लगाउनुभयो।

पर्सामा पनि विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी पर्साले आइतबार
बीरगञ्जमा पनि विरोध प्रदर्शन गरेको छ।

असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गरिरहने बताउँदै आएको जसपाको भब्य जुलुसले बीरगञ्ज नगर परिक्रमा गरी घण्टाघर चोकमा कोण सभा गरेको थियो।

कोणसभालाई प्रदेश २ का प्रदेश सभासदस्य रमेश पटेल, करिमा बेगम, शिव पटेल लगायतका जसपाका नेता कार्यकर्ताले सम्बोधन गर्दे विघटनकोे अससंवैधानिक कदमलाई अविलम्ब सच्याएर संसद स्थापना गरिनु पर्ने अभिव्यक्ति दिनुभएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुरुषोत्तम झा पर्सा अध्यक्ष रामनरेश यादव लगायतका नेता कार्यकर्ता अगुवाई रहेको थियो ।

Share Now

Leave a comment.