Prakash Adhikari December 29, 2020

 

काठमाडौं, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रचण्ड-नेपाल पक्षले आज राजधानी काठमाडौंसहित देशभर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन र आमसभा गर्ने भएको छ।

पार्टीलाई उपेक्षा गरेर राज्य सञ्चालन गर्दै आउनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीको सचिवालय, चलिरहेको स्थायी समिति, केन्द्रीय समिति, संसदीय दलजस्ता औपचारिक निकायका साथै पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसंग परामर्श त परै जावस् जानकारीसमेत नदिईकन प्रतिनिधिसभाको विघटनको असंवैधानिक कदम उठाएपछि दाहाल नेपाल पक्षको बहुमत रहेको केन्द्रीय समितिले उहाँको कदमको विरोध गर्दै आएको छ ।

उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सर्वोच्च अदालतमा असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधिसभाको पुनस्थापानकालागि रिट निवेदन पनि दिनुभएको छ । सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा गठित ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाई पनि भैरहेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीका असंवैधानिक र पार्टी विभाजनकारी, लोकतन्त्र, राजनीतिक स्थायित्व र विकास विरोधी कदमको विरोध गर्दै जनतासमक्ष प्रधानमन्त्री ओली र उहाँको समूहको गलत कामकारबाही पुर्याएर नग्याउन प्रचण्ड नेपाल समूहले आज देशैभरी विरोध प्रदर्शन र आमसभाको कार्यक्रम राखेको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बाग्मती अञ्चलका रसुवा,नुवाकोट, काठमाण्डौ, भक्तपुर, ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, धादिड.को शक्ति प्रदर्शन भने राजधानी काठमाडौंमा हुनेछ । काठमाडौंमा बाग्मती अञ्चलका अन्य जिल्लाबाट पनि नेता, कार्यकर्ता आउने क्रम सुरु भएको छ।

आयोजकहरुले दिएको जानकारी अनुसार सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ।

मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपनडोलमा ११ बजे भेला भएर नाराजुलुससहित शहर परिक्रमा गर्दै भृकुटीमण्डपसम्म पुग्नेछन्। त्यहाँ शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

काठमाडौंबासीहरुले आआफ्नो टोलबाट प्रदर्शन गर्दै मुख्य चोकमानिएका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजारमा मिसिदै भृकुटी मण्डप पुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद बढेको छ । पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा बहुमत झण्डै ३ सयको हाराहारीमा रहेको ओली इतर पक्षले केन्द्रीय समितिको बहुमतको निर्णयबाट पार्टी अध्यक्षबाट के.पी. शर्मा ओलीलाई हटाएर सो स्थानमा माधवकुमार नेपाललाई चयन गरिसकेको छ भने पार्टीको महासचिवमा सुरेन्द्र पाण्डेलाई चयन गरिसकेको छ ।
यता अल्पमत पक्षको बैठक राखेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केन्द्रीय समिति विस्तार गरेर १ हजार १ सय ९९ सदस्यीय बनाउनुभयो । आफू पक्षीय कार्यकर्ताहरु थप गरेर बनाइएको सो कार्यसमितिको विस्तार पछाडीमात्रै विधान संशोधन गरिएकोले यो कार्य पनि अवैधानिक भएको अर्को पक्षको दावी छ ।

दुई पक्ष पार्टीको झण्डा र चुनाव चिन्हको लागि आफ्नो समूह आधिकारिक भएको दावीसहित निर्वाचन आयोगमा निवेदनसहित पुगेका छन् । प्रचण्ड नेपाल समूहले गत शुक्रबार छातीमा नेकपा यहाँ छ भन्ने ट्रयाग झुण्ड्याएका साविक नेकपाका बहुमत केन्द्रीय सदस्यहरुको बबरमहलदेखि निर्वाचन आयोगm बहादुरभवन कान्तिपथसम्म मार्चपास गराएको थियो ।

आआफ्ना समूहले आधिकारिकता पाउने आशामा दुवै समूहले पार्टी फुटाएको घोषणा गरेका छैनन् । फुटको अपजस लिन दुवै समूह तर्सेका छन् ।

आजको शक्ति प्रदर्शनले प्रधानमन्त्री ओलीको पक्ष अरु कमजोर हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले अधिनायकवादी शैलीमा राज्य सञ्चालन गर्न ल्याउनुभएको अध्यादेश, आफैले प्रतिनिधिसभा विघटन गरेपछि गर्नुभएको मन्त्रिपरिषद् विस्तारका असंवैधानिक कदमका सम्बन्धमा पनि सर्वोच्च अदालतमा रिट निवेदन परेका छन् ।

 

Share Now

Leave a comment.