Prakash Adhikari December 29, 2020

 

काठमाडौं, १४ पौष । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधान विपरित गरेको प्रतिनिधिसभा विघटनको सिफारिस र त्यसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको विघटन र नयाँ निर्वाचनको घोषणाविरुद्ध नेपाली कांग्रेस देशभरका १ सय ६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध सभा सम्पन्न गरेको छ ।

२०७४ सालमा कम्युनिष्ट गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित हुनुपरेकोले संघीय संसददेखि प्रदेशसभासम्मका चुनावमा अपेक्षाकृत रुपमा निर्वाचन जित्न नसकेपछि नैतिक बल र साहससमेत गुमाएका नेपाली कांग्रेसका कार्यकर्तामा अधिनायकवादी शासन चलाउन उत्सुक कम्युनिष्ट पार्टीमा आएको विभाजनले निकै उत्साह थपेको देखिएको छ । यो विभाजनले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापनाको पक्षमा फैसला दिए पनि निर्वाचनको पक्षमा दिए पनि नेपाली कांग्रेसलाई भने लाभ हुने सुनिश्चित भएको छ ।

पुनस्थापना भएमा फुटेको पार्टीमा संसदमा ठूलो हुनेसंग मिलेर सत्तामा जाने बाटो खुल्छ भने चुनावमा गएमा नेपाली कांग्रेसले बहुमत ल्याउने अवस्था हुन्छ ।

यसैले आइतबारको विरोधसभामा पार्टीका सभापति शेरबहादुर देउवासहित प्रायः सबै नेताहरुले सर्वोच्च अदालतले गर्ने निर्णय आफूहरुलाई शिरोधार्य हुने भएको बताउदै आआफ्नो निर्वाचन क्षेत्रका मतदातालाई निर्वाचनको निमित्त पनि तयार रहन आग्रह गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडैल, पार्टी उपसभापति विमलेन्द्र निधी र युवा नेता गगन थापाले भने सर्वोच्च अदालतले संविधानको अक्षर र भावना अनुरुप फैसला गर्नुपर्ने संविधानलाई कुल्चेर गरिने निर्वाचनले देशमा लोकतन्त्र, संघीयता र गणतन्त्रको संरक्षण र सम्बर्धन गर्न नसक्ने स्पष्ट बताउनुभएको थियो ।

तस्विरमा हेर्नुहोस् देशभर नेपाली कांग्रेसको विरोध प्रदर्शन र सभा :

https://www.facebook.com/100021871004341/videos/889372161801809/

 

 

 

Share Now

Leave a comment.